नखानुस् वनको च्याउ, विषालु हुन सक्छ
चितवन : च्याउ उत्तम पौष्टिक आहार हो तर चिन्न नसक्दा याे विषमा परिणत भइदिन्छ। भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार वर्षा शुरु भएसँगै विषालु च्याउ खाएर बिरामी पर्नेको सङ्ख्या दिनहुँ बढ्दो छ।
यो मौसममा हरेक दिनजसो त्यस्ता बिरामी आउने गरेको पौडेलले जानकारी दिए। अहिले अस्पतालको सघन उपचार कक्षमा दुई जना बिरामी छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको उनको भनाइ छ।
अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीका अनुसार च्याउको जात सामान्यतया झट्ट हेर्दा उस्तै उस्तै हुने हुनाले कुन बढी विषालु हो र होइन भनेर छुट्याउन कठिन हुन्छ।
‘यिनीहरुमा पहिले नै तयारी विष हुन्छ, ती किटाणु होइनन्’, डा. अधिकारी भन्छन्। यिनीहरूले सोझै मानिसको कलेजो, मिर्गौला र आन्द्रामा असर गरेर अचानक पखाला लाग्ने, बान्ता हुने, रक्तचाप घट्ने, पिसाब कमी भएर मिर्गौलाले काम नगर्ने, जण्डिस देखिने, मुटुको धड्कन कम हुनेजस्ता लक्षण देखाउने उनको भनाइ छ।
विषालु च्याउ खाएर अस्पताल आउने बिरामीमा विषलाई सिधै कम (न्यूट्रलाइज) गर्ने पदार्थ नहुने हुनाले उनीहरूलाई सहयोग गरेर जुन अंगमा असर छ त्यसलाई औषधि प्रयोग गरी जोगाउनुपर्ने चिकित्सकहरू बताउँछन्। विष रोक्ने औषधि नहुने भएकाले त्यसले शरीरका कुन अंगमा असर गरेको छ त्यही अंगकाे उपचार गर्नुपर्ने डा. अधिकारी बताउँछन्।
वनमा भेटिने यस्ता खालका च्याउहरू पखालेर, उमालेर खायो भने विष जान्छ भन्ने भ्रम रहेको पाइन्छ। तर यो भ्रमबाट मुक्त हुनुपर्ने चिकित्सकहरू बताउँछन्। च्याउलाई उमाल्दैमा विष नजाने उनीहरूको भनाइ छ।
वनको च्याउ नचिनी नखान र थाहा नपाई खाइहालेमा तत्काल अस्पताल पुग्नुपर्ने अधिकारी बताउँछन्। डा. अधिकारीका अनुसार च्याउ खाएको छ घण्टाभित्रमा अस्पताल आएमा ९० प्रतिशत बच्छन् भने पछि आउँदा ४० प्रतिशतलाई मात्र बचाउन सक्ने अधिकारीको भनाइ छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य