आयुर्वेदिक, एलोपेथिक र होमियोपेथिक उपचार एकै अस्पतालमा
काठमाडौं : प्रदेश १ का अस्पतालमा आउने बिरामीले आयुर्वेदिक, एलोपेथिक र होमियोपेथिक उपचार सेवा एकै ठाउँबाट पाउने भएका छन्। एउटै स्वास्थ्य संस्थामा तीनवटै पद्धतिको उपचार प्रदान गर्न प्रदेश सामाजिक विकास मन्त्रालयले ४० बढी चिकित्सक र स्वास्थ्यकर्मी थप गरी सेवा विस्तार शुरु गरेको हो।
एकै स्वास्थ्य संस्थाबाट तीन पद्धतिको उपचार प्रदान गर्न प्रदेश सरकारले एकीकृत स्वास्थ्य सेवा शुरु गरेको प्रदेश १ का जडीबुटी आयुर्वेदविज्ञ समितिका सचिव तीर्थ आचार्यले जानकारी दिए। प्रदेश १ मा आयुर्वेदिक, एलोपेथिक र होमियोपेथिक पद्धतिको उपचार एकै ठाउँबाट कतिपय स्वास्थ्य संस्थामा शुरु भइसकेको छ भने कतिपयमा संरचना निर्माणको काम भइरहेको छ।
आयुर्वेद औषधालय र जिल्ला अस्पतालको स्तरवृद्धि गरी पहिलोपटक होमियोपेथिक उपचार शुरु गर्न प्राविधिक जनशक्ति छनोट गरी काम थालिएको प्रदेश १ का स्वास्थ्य निर्देशक भोगेन्द्र डोटेलले जानकारी दिए।
मन्त्रालयको निर्णयसँगै ताप्लेजुङ, पाँचथर, इलाम, दमक, उर्लाबारी, कटारी र भोजपुर जिल्ला अस्पतालबाट एलोपेथिकसँग आयुर्वेद सेवा प्रदान गरिने भएको हो। यस्तै इलाम, धनकुटा, इनरुवा, गाईघाट, ओखलढुंगा जिल्ला अस्पताल र झापा, मोरङका आयुर्वेद अस्पतालमा एलोपेथिक, आयुर्वेदिक र होमियोपेथिक उपचार सेवा शुरु गर्न बजेट व्यवस्थापनसमेत भइसकेको जडीबुटी आयुर्वेदविज्ञ समितिका सचिव आचार्यले बताए।
एक स्वास्थ्य संस्थामा तीन थरीको उपचार पद्धतिको सेवा दिन मन्त्रालयले चालू आर्थिक वर्षमा प्रत्येक जिल्ला अस्पताललाई एक करोड २६ लाख रूपैयाँका दरले बजेट प्रदान गरको छ। एकीकृत स्वास्थ्य सेवाका लागि मन्त्रालयले आयुर्वेद औषधालयमा २८ र होमियोपेथिक उपचार सेवाका लागि १४ चिकित्सक र स्वास्थ्यकर्मी करारमा थप गरी सेवा शुरु गरेको हो।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’