Health TV Online
Health TV Online
Health TV Online

भारतमा गुणस्तरहीन प्रमाणित औषधि नेपालमा निर्बाध बिक्री

भारतमा गुणस्तरहीन प्रमाणित औषधि नेपालमा निर्बाध बिक्री

काठमाडाैं : भारतमा उत्पादित गुणस्तरहीन औषधि नेपाली बजारमा खुलेआम बिक्री हुने गरेको छ। नेपालमा अनुगमन र कारबाही नहुने भएकाले भारतमा गुणस्तर फेल भएका यस्ता खुलेआम औषधि बिक्री हुने गरेकाे हाे।

३७ भारतीय कम्पनीका औषधि गुणस्तरहीन भएको पाइएको छ । भारतको सेन्ट्रल ड्रग स्ट्यान्डर्ड एन्ड कन्ट्रोल अर्गनाइजेसनले हालै सार्वजनिक गरेको प्रतिवेदनमा विभिन्न कम्पनीका औषधिको गुणस्तर फेल भएको छ। गुणस्तर परीक्षणका आधारमा भारत सरकारले प्रतिवेदन सार्वजनिक गरेको हो। तर तिनै औषधि नेपालमा निर्बाध बिक्री हुने गरेका हुन्।

भारतीय कम्पनी ओरिजन फार्मा इन्टरनेसनल खरी, लार्क ल्याबोरेटरिज इन्डिया, सलुस फर्मास्युटिकल्स, थेउन फार्मासेयुक्टिकलबाट उत्पादन भइरहेका औषधिहरु गुणस्तरहीन रहेको जनाइएको छ। यस्तै, गुणस्तरहीन अन्य औषधि कम्पनीमा बाल फर्मा लिमिटेड, डाफोडिल्स फर्मास्युटिकल्स लिमिटेड, सिस्टोकेम ल्याबरोटरिज, हिमालय मेडिटेक प्राइभेट लिमिटेड, म्याक्स केम फर्मास्युटिकल्स र हिन्दुस्तान मेडिसिन्स, ग्राक्योर फर्मास्युटिकल्स लिमिटेड  छन्।

यस्तै, साइनोकेम फर्मास्युटिकल्स लिमिटेड र ज्याक्सन ल्याबरोटरिजलगायतका कम्पनीबाट उत्पादित औषधि गुणस्तरहीन रहेको बताइएकाे छ। तोकिएको मापदण्डअनुसार औषधिमा हुनुपर्ने गुण नभएको र घुल्नुपर्ने ठाउँमा औषधि नघुलेको पाइएको हो। बजारमा पुगेका गुणस्तरहीन त्यस्ता सबै औषधि फिर्ता पठाउन निर्देशन दिँदै आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको भारत सरकारले जनाएको छ।

तीमध्ये ग्राक्योर फर्मास्युटिकल्स, बाल फर्मा, लार्क ल्याबोरेटरी र हिन्दुस्तान मेडिसिनलगायतका कम्पनीबाट उत्पादित औषधि नेपाली बजारमा समेत बिक्री हुने गरेको छ। यसैगरी, फेसेनिउस कवी अंकोलोजी र अल्बर्ट डेबिडबाट उत्पादित औषधि पनि नेपाल आउँछन्।

सरकारले प्रभावकारी बजार अनुगमन नगर्दा त्यस्ता औषधि नेपाली बजारमा खुलेआम बिक्री हुँदै आएको नेपाल औषधि उत्पादक संघका कार्यसमिति केन्द्रीय सदस्य विप्लव अधिकारीले बताए।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार