महिला स्वास्थ्य स्वयंसेविकालाई वार्षिक छ हजार रुपैयाँ
बैतडी : दोगडाकेदार गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई वार्षिक एकमुष्ट छ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिएको छ ।
गाउँपालिकाभरिका ८७ महिला स्वास्थ्य स्वयंसेविकालाई छ हजारका दरले पाँच लाख २२ हजार रुपैयाँ वितरण गरिएको गाउँपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिए।
गत वर्ष महिला स्वास्थ्य स्वयंसेविकालाई पाँच हजार भत्ता रुपैयाँ उपलब्ध गराएकामा यो वर्ष एक हजार थप गरेर छ हजार पुर्याइएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिए। स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाले पुर्याएको योगदानको कदर गर्दै प्रोत्साहन भत्ता बढाइएको उनले बताए।
स्वास्थ्य स्वयंसेविकाको कामको उच्च मूल्याङ्कन गर्दै काम गर्ने हौसला प्रदान गर्न गाउँपालिकाले प्रोत्साहन भत्ता दिइएको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताइन्।
गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाले गत वर्षबाट प्रोत्साहन भत्ता पाइरहेका छन् । गाउँपालिकाले प्रोत्साहन भत्ता उपलब्ध गराउँदा धेरै खुशी भएको श्रीकोट स्वास्थ्यचौकीका महिला स्वयंमसेविका गोमती विष्टले बताइन्। गाउँपालिकाले आफूहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराउँदा धेरै सजिलो भएको अर्की स्वास्थ्य स्वयंसेविका जयन्ती ऐरीको भनाइ छ।
महिला स्वास्थ्य स्वयंसेविकाले सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप लगाउने, गर्भवतीलाई आइरन चक्की वितरण गर्ने, बालबालिकालाई भिटामिन खुवाउनेलगायत स्वास्थ्यका आधारभूत कुरामा सहयोग गर्दै आइरहेका छन्।
गाउँपालिकाका आठ वडामा ८७ महिला स्वास्थ्य स्वयंसेविका रहेका छन्। बैतडीका १० स्थानीय तहमा ८३२ महिला स्वास्थ्य स्वयंसेविका छन् ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?