सुविधासम्पन्न स्वास्थ्यचौकी भवन निर्माण
म्याग्दी : रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा स्वास्थ्यचौकीको सुविधासम्पन्न भवन निर्माण भएको छ। शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीले एक करोड ८५ लाख रुपैयाँ लगानीमा निर्माण गरेको भवन स्वास्थ्यचौकी व्यवस्थापन समितिलाई बिहीबार हस्तान्तरण गरेको हो।
१८ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित २०७२ मा शुरु भएको भवन निर्माण व्यवसायीको चरम ढिलासुस्ती र लापरवाहीका कारण तीन वर्षमा बनेको वडाध्यक्ष जीवन मल्लले बताए। १९ कोठा भएको दुई तले भवनमा प्रशासनिक, स्वास्थ्यकर्मी आवास, बिरामी उपचार, औषधी भण्डारण, श्यया रहने छुट्टाछुट्टै कक्ष छन्। भूकम्प प्रतिरोधी क्षमताको भवन अपाङ्गमैत्री पनि छ।
निर्माण कम्पनीका प्रतिनिधि पवनकुमार मल्लले नाकाबन्दी, चुनाव लगायतका कारणले भवन निर्माणमा ढिलाइ भएको जानकारी दिए। गाउँपालिका ३ का बासिन्दाले सेवा लिने पिप्ले स्वास्थ्यचौकी हाल जीर्ण र साँघुरो कोठा भएको पुरानो भवनमा सञ्चालन हुँदै आएको छ।
मालिका गाउँपालिका–४ च्युरीबोट र अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा निर्माण भएको भवन हस्तान्तरण भइसकेको छ । मङ्गला गाउँपालिका–३ बरङ्जामा निर्माण भएको स्वास्थ्यचौकीको भवन पनि हस्तान्तरणको तयारीमा छ। देवीस्थान, घार र कुहुँ स्वास्थ्यचौकीको भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको छ।
हिस्तान, कुइनेमङ्गले, मल्कवाङ र पुलाचौर स्वास्थ्यचौकीका भवन निर्माणाधीन अवस्थामा छन्। गत आर्थिक वर्षमा बिमा र भगवती स्वास्थ्यचौकीको भवन निर्माण सम्पन्न भएको थियो। सदरमुकामस्थित बेनी अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणाधीन अवस्थामा छ। अस्पताल परिसरमा दुई चिकित्सक र स्वास्थ्यकर्मी आवास भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’