Health TV Online
Health TV Online
Health TV Online

बुटवल उपमहानगरमा सुरक्षित मातृत्व अभियान

बुटवल उपमहानगरमा सुरक्षित मातृत्व अभियान

रूपन्देही : विभिन्न क्षेत्रमा मजदुरी गर्दै आएका गर्भवती तथा सुत्केरी महिलालाई लक्ष्य गरेर बुटवल उपमहानगरले सुरक्षित मातृत्व अभियान शुरु गरेको छ। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बिहीबार बुटवल–११ बुद्धनगरका श्रमिक महिलालाई पौष्टिक आहार वितरण गरी अभियान शुरु गरिएको हो। कार्यक्रम उपमहानगरभरि नै सञ्चालन हुनेछ।

पति तथा परिवारसँगै काममा खटिने श्रमिक महिलालाई स्वास्थ्य सचेतना जगाउने, स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य जाँच गर्नेदेखि सुत्केरी भएकालाई पौष्टिक आहार वितरण गर्दै यस्तो अभियान शुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ। उपमहानगरपालिकाको जनस्वास्थ्य महाशाखाले यो अभियानको संयोजन गरिरहेको छ।

‘उपप्रमुख गर्भवती तथा सुत्केरी भेट कार्यक्रम’ शीर्षकमा शुरु भएको यो अभियानलाई उपमहानगर मातहतका शहरी स्वास्थ्य केन्द्र, शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र तथा स्वास्थ्य चौकीमार्फत १९ वटै वडामा विस्तार गरिनेछ।

नगर प्रमुख शिवराज सुवेदीले महिला तथा शिशुले पाउने आवश्यक मातृत्व सेवालाई सुरक्षित बनाउँदै समयमै तथा स्तरीय स्वास्थ्य सेवा पाउने गरी नगरका सबै स्वास्थ्य केन्द्रमा विशेष निर्देशन गरिएको बताए।

उपप्रमुख तथा लैङ्गिक हिंसामुक्त नगर अभियानका संयोजक गुमादेवी आचार्यले कमजोर स्थिति भएकै कारण महिलालाई कसैले होच्याउने वा जोखिमपूर्ण व्यवहार गर्न नपाउने गरी विशेष नियम बनाउन लागिएको जानकारी दिए।

शुभारम्भ गरिएकै दिन चार सुत्केरी महिला र ४८ जना गर्भवती महिलालाई पौष्टिक आहार र औषधि वितरण गरिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार