Health TV Online
Health TV Online
Health TV Online

सामाजिक अपहेलनाकाे डरले महिला लुकाउँछन् पाठेघर खस्ने समस्या

सामाजिक अपहेलनाकाे डरले महिला लुकाउँछन् पाठेघर खस्ने समस्या

काठमाडौं : तराई–मधेशका विभिन्न नौ जिल्लाका महिलामा पाठेघर खस्ने समस्यामा सुधारोन्मुख रहेको एक अध्ययनले देखाएको छ ।

सप्तरी, सिराहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, मकवानपुर र नवलपरासीका महिलाको स्वास्थ्य परीक्षण र उपचारसहित गरिएको एक अध्ययनले पाठेघर खस्ने समस्या सुधारोन्मुख देखिएपनि अझै करिब २६ प्रतिशत महिलामा कुनै न कुनै प्रकारका पाठेघर खस्ने समस्या पाइएको देखाएको छ।

यहाँस्थित भारतीय राजदूतावासको आर्थिक एवं प्राविधिक सहयोगमा हेल्दी नेपाल कम्युनिटी फाउन्डेसनद्वारा ती जिल्लाका करिब ४५ हजार महिलामा गरिएको स्वास्थ्य परीक्षण तथा उपचारबाट सो समस्या देखिएको फाउन्डेसनका अध्यक्ष शेखर गिरीले जानकारी दिए।  उनका अनुसार सो अध्ययन सन् २०१६ देखि २०१८ सम्म गरिएको थियो।

स्वास्थ्य परीक्षणबाट पाठेघर खस्ने समस्या देखिएका महिलालाई उपचार सेवा उपलब्ध गराइएको थियो। पाठेघर समस्या भएका महिलाको उपचारका लागि फाउन्डेसनले ती जिल्लाका विभिन्न अस्पतालसँग सहकार्यसमेत गरेको थियो । तीमध्ये पाठेघर खसेका ३६० महिलाको शल्यक्रियासमेत भएको फाउन्डेसनले जनाएको छ।

विशेषगरी पिछडिएका, अल्पसङ्ख्यक, सीमान्तकृत महिलामा पाठेघर खस्ने समस्या पाइएको अध्ययनमा संलग्न कार्यक्रम संयोजक डा सदीक्षा गिरीले जानकारी दिइन्। ‘अझै पनि कम उमेरमा विवाह गर्ने प्रचलन, जन्मान्तरको फरक कम, कुपोषण, सुत्केरी अवस्थामा उचित हेरचाहको कमीलगायत कारण महिलामा पाठेघर खस्ने समस्या छ’, उनले भनिन्।

अध्ययनका क्रममा रोग लुकाएर बसेका महिलाको सङ्ख्या उल्लेख्य रहेको पाइएको छ। ‘सामाजिक अपहेलना हुने भयले पाठेघर खस्ने महिला उपचारमा नआउँदा समस्या बढ्दो छ’, कार्यक्रम संयोजक गिरीले भनिन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघर खस्ने समस्याको निःशुल्क उपचारको व्यवस्था गरेको छ। तर उपचारको पहुँचमा नआउँदा यो समस्या विकराल बन्दै गएको बताइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार