प्रदेश १ को १४ जिल्लामा १५ शय्याका ३६ अस्पताल बन्ने
काठमाडाैं : प्रदेश १ को १४ जिल्लामा १५ शय्याका ३६ अस्पताल निर्माण हुने भएको छ। संघीय सरकारले बिहीबार विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीको स्तरोन्नति गर्ने नीतिगत निर्णय गरेअनुरूप प्रदेश १ मा ३६ वटा अस्पताल निर्माण हुने भएको हो।
देशभरका प्राथमिक स्वास्थ्य केन्द्र र केही स्वास्थ्य चौकीसहित २१३ स्वास्थ्य संस्थालाई १५ शय्याको अस्पतालमा स्तरोन्तति गर्ने नीतिगत निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
प्रदेश १ को १४ जिल्लामध्ये सबैभन्दा बढी झापा र मोरङमा पाँच–पाँच वटा अस्पताल बन्ने भएको छ भने सबैभन्दा कम उदयपुर र ओखलढुंगामा रहेको एक–एक वटा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी अस्पताल निर्माण गर्ने निर्णय गरिएको छ।
संखुवासभा र झापामा रहेको चार–चार वटा, भोजपुर र सुनसरीमा रहेको तीन–तीन वटा, इलाम, सोलुखुम्बु, तेह्रथुम, धनकुटा र खोटाङमा सञ्चालित दुई–दुईवटा प्राथमिक स्वास्थ्य केन्द्रकाे स्तरोन्नति गरिने मन्त्रालयले जनाएको छ।
अहिलेसम्म देशभरका एक सय नौ स्थानीय तहमा अस्पताल छन् भने ६४० स्थानमा अस्पताल निर्माण गर्नुपर्ने छ। १५ शय्याको अस्पताल निर्माण कार्य सम्पन्न गर्न तथा कार्यप्रगतिका आधारमा निर्माणाधीन स्वास्थ्य संस्थाका भवन सम्पन्न गर्न ७५ करोड बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?