Health TV Online
Health TV Online
Health TV Online

डाेटीमा बढ्याे असुरक्षित गर्भपतन

डाेटीमा बढ्याे असुरक्षित गर्भपतन

डाेटी : स्वास्थ्य क्षेत्रका सरोकारवालाले सुरक्षित गर्भपतन तथा सेवाका बारेमा आवश्यक जानकारी अभावमा असुरक्षित गर्भपतन गराउने क्रम नरोकिएको बताएका छन्।

गर्भपतनका बारेमा अझै समाजमा भ्रम विद्यमान रहेकाले महिला खुलेर सूचीकृत स्वास्थ्य संस्थामा आउन नसकेको उनीहरुको धारणा छ।

आईपास नेपालको सहयोगमा सामुदायिक विकास मञ्च नेपालले जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको सुरक्षित गर्भपतनसम्बन्धी सञ्चारकर्मीसँगको अन्तक्रियामा सहभागीले सुरक्षित गर्भपतन तथा निःशुल्क सुरक्षित गर्भपतन सेवाका बारेमा उपलब्ध सेवाका बारेमा समुदायस्तरसम्म जानकारी प्रवाह गर्नुपर्नेमा जोड दिए।

अझै पनि निजी मेडिकल तथा सूचीकृत नभएका स्वास्थ्य संस्थामा गर्भपतन गराउने र जोखिम बढेपछि मात्र अस्पतालमा उपचारका लागि आउने गरेको पाइएको छ। जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. भूषण मिश्रले सुरक्षित गर्भपतन र सेवाका बारेमा समुदायस्तरमा जानकारी प्रवाह गर्नसके जोखिम न्यूनीकरण गर्न सकिने बताए।

जिल्ला अस्पतालका साथै तिखा, गड्सेरा, चवराचौतारा, पोखरी, मौवा, मुडभारा, भूमिराजमाडौं, बर्छैन, लानाकेदारेश्वर, लडागडा, सरस्वतीनगर, छतिवन, सानागाउँ, डौड, दानकोट, कफल्लेकी, दुर्गामाडाैं र तिखातर गरी १८ स्वास्थ्य चौकीमा निःशुल्क सुरक्षित गर्भपतन सेवा उपलब्ध छ।

सुरक्षित गर्भपतनका लागि सूचीकृत स्वास्थ्य संस्थामध्ये सामुदायिक विकास मञ्चद्वारा सञ्चालित सुरक्षित गर्भपतन सेवा कार्यक्रमअन्तर्गत दुर्गामाडौं, कफल्लेखी, डौड, छतिवन र सरस्वतीनगर स्वास्थ्य संस्थामा प्राविधिक सहयोग तथा कार्यक्रम सञ्चालित रहेको मञ्चका सचिव सिद्धराज जोशीले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार