सरकारी स्वास्थ्य शिविरमा गराए १५ हजारले स्वास्थ्य परीक्षण, ३०० को शल्यक्रिया
राजविराज : सप्तरीको सदरमुकाममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सञ्चालित ११ दिने बृहत् स्वास्थ्य शिविरमा १५ हजार १३४ जनाले सेवा लिएका छन्। यसमध्ये २९५ जनाको शल्यक्रिया गरिएको छ।
नेपाली सेनाको सहयोगमा आयोजित शिविरमा छ हजार ३६८ पुरुष र आठ हजार ७६६ महिला गरी १५ हजार १३४ जनाले ३१ हजार ३७४ प्रकारका स्वास्थ्य सेवा लिएको भीमदल गण राजविराजका सेनानी अमरबहादुर थापाले बताए। शिविरमा अपेक्षाभन्दा बढी स्वास्थ्य सेवा प्रदान गरिएको जँचाउने बिरामीको लागि निःशुल्क औषधि समेत दिइएको सेनानी थापाले जानकारी दिए।
शिविरमा पित्त तथा मिर्गौलाको पत्थरी, पुरुष ग्रन्थीको उपचार, पायल्स तथा हर्निया, पाठेघरको शल्यक्रिया, नाक\कान\घाँटीको उपचार, मानसिक रोगको उपचार, इको (मुटुको भिडियो एक्सरे) तथा क्यान्सरको स्क्रिनिङलगायतका स्वास्थ्य सेवा प्रदान गरिएको नेपाल आर्मी मेडिकल कलेजका सहायक रथी डा. सुशीलबहादुर रावतले जानकारी दिए।
स्वास्थ्य शिविरमा शल्यक्रिया गर्नेमध्ये सबैभन्दा बढी हर्नियाका ८५ जना, पित्तथैलीका ५४ जना र हाइड्रोसिलका १० जना रहेको नेपाली सेनाले जनाएको छ।
फागुन १ गते शुरु भएको शिविरमा नेपाली सेनासहित, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका १२६ जना विशेषज्ञ डाक्टर र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य