जडीबुटी खेतीतर्फ आकर्षण
परासी : पश्चिम नवलपरासीको बर्दघाट–२ स्थित चिसापानी सामुदायिक वनले प्रशोधित सुगन्धित तेल उत्पादन गर्न थालेपछि यहाँका महिला जडीबुटी खेतीतर्फ आकर्षित भएका छन्।
यसले जुडीबुटी खेतीको विस्तार भएको छ भने महिलाको आयआर्जनको राम्रो माध्यम पनि बनेको छ। सुगन्धित तेल ‘कस्मेटिक’ तथा अन्य जडीबुटीजन्य वस्तुमा प्रयोग हुने गरेको छ।
चिसापानी सामुदायिक वनअन्तर्गत स्थापना भएको चिसापानी सामुदायिक जडीबुटी प्रशोधन उद्योगले कच्चा तेल उत्पादन गरी विदेश पठाउने गरेको छ। उद्योगले सुगन्धित तेल उत्पादन गरी विदेश पठाउने गर्दा जडीबुटीको माग बढ्दै जान थालेपछि यहाँका महिला जडीबुटी खेतीतर्फ आकर्षित भएका हुन्।
जङ्गलमा खाली रहेको जग्गामा व्यावसायिक रूपमा जडीबुटी खेती गरेर २६५ महिलाले आयआर्जन गरी रोजगारी पाइरहेको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष होमबहादुर गुरुङले बताए। ‘हाम्रोसहित जिल्लाका अन्य छ सामुदायिक वनमा महिलाले समूह बनाएर जुडीबुटी खेती गरिरहेका छन्’, उनले भने, ‘लेमनग्रास, तामारोजर, मिटानेला, मेन्था, पचौली, जटामसीलगायतको प्रशोधन हुन्छ।’
अध्यक्ष गुरुङका अनुसार चिसापानी सामुदायिक वनमा १५, पारिजात सामुदायिक वन बर्दघाटमा २२, दाउन्नेदेवी सामुदायिक वनमा ३३, सीतापोखरी सामुदायिक वनमा ६५, संसारकोट हरियाली सामुदायिक वनमा २७ र जनउदय सामुदायिक वन सुनवलमा २५ महिलाले समूहमा जडीबुटी खेती गरिरहेका छन्।
एकपटक लगाएपछि पाँच वर्षसम्म त्यसबाट उत्पादन लिन पाइने भएकाले अधिकांश महिलाले भने बहुवर्षे लेमनग्रासको खेती गरेका छन् । जडीबुटी खेतीबाट मासिक १८ हजारको दरले महिलाले आम्दानी गरिरहेको लालिगुराँस जडीबुटी कृषक समूहले जनाएको छ। यो समूहले जटामसीको खेती गरिरहेको छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य