Health TV Online
Health TV Online
Health TV Online

विदेशी भूमिमा मार्केट लिँदै नेपाली औषधि

विदेशी भूमिमा मार्केट लिँदै नेपाली औषधि

काठमाडौं : नेपाल औषधिमा  बिस्तारै आत्मनिर्भर तर्फ गइरहेको चर्चा भइरहँदा नेपाली औषधि कम्पनीले विदेशमा समेत औषधि निर्यात गर्न थालेका छन्।

नेपाली औषधि कम्पनी लोमस फर्मासियुटिकल्स ११ देशमा औषधि निर्यात गर्दै आएको छ। सन् २००९ मा पहिलोपटक नाइजेरियामा भएको कार्यक्रमका लागि औषधि निर्यात गरेको कम्पनीले पछिल्लो समय इथोपिया, किर्जिकस्तान, अफगानिस्तान, म्यान्मार, जिम्बाबे, घाना लगायतका देशमा नियमित औषधि निर्यात गर्दै आएको कम्पनीमा निर्देशक प्रज्वलजंग पाण्डेले बताए।

यसरी निर्यात गर्ने औषधिहरूमा एन्टी इन्फेक्सन, भिटामिनदेखि कार्डियो भास्कुलरसम्म रहेको पाण्डेले जानकारी दिए। नेपाली औषधि उद्योगमा लोमस नै पहिलो निर्यातकर्ता भएको उनको दाबी छ । उनले भने, अहिले केही कम्पनीले पनि शुरु गरेको भन्ने सुनेको छु।

औषधि निर्यातका लागि अफ्रिकाका देश नै रोज्नुको कारणमा उनले भने, ‘हाम्रो र यी देशहरूको धेरै गाइडलाइन्स मिलेकै कारण हामीले यी देशमा औषधि पठाउन सकेका हौँ।’ विकसित देशहरूमा अहिल्यै प्रतिस्पर्धा गर्न सक्ने अवस्था नरहेकाे  उनले प्रष्ट्याए। ‘सानो देश भनेर हामीले भुटानमा पनि औषधि पठाउन कोशिश गरेका थियौँ,तर सकेनौँ’,उनले भने ‘उनीहरूको क्राइटेरिया नै मिट गर्न गाह्रो भयो।’

लोमसले जुन जुन देशहरूमा औषधि निर्यात गरिरहेको छ यीमध्ये अधिकांश देशमा औषधि कम्पनी नै छैनन्। औषधि निर्यात गर्न त्यति सजिलो भने नभएको उनको भनाइ छ। औषधि निर्यात गर्नु अघि जुन देशमा पठाउने हो। त्यस देशका विशेषज्ञ आएर निरीक्षण गरी  निर्यात गर्नयोग्य छ भनेर प्रमाणपत्र दिएपछि मात्र आफूहरूले औषधि पठाउन पाउने पाण्डेले जानकारी दिए । त्यसपछि ‘प्रडक्ट’ अनुसार उनीहरूकै देशमा दर्ता गर्नुपर्छ।

उनले भने, पैसाको कुरा गर्ने हो भने धेरै छैन । वार्षिक जम्मा सात आठ करोड मात्र हुन्छ होला तर यसरी नेपाली औषधि विदेशमा पठाउनु नै ठूलो कुरा हो। नेपालमा हाल ५५ वटा औषधि कम्पनी छन् भने झण्डै ३० वटा कम्पनी सञ्चालन हुने क्रममा छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार