बिरामीको मनोबल बढाउँदै क्यान्सर सर्भाइभर
काठमाडाैं : क्यान्सर भन्ने बित्तिकै मरिहालिन्छ भन्ने कसैलाई लाग्छ भने त्यो गलत हुन सक्छ। पछिल्लो समय क्यान्सरका बारेमा निकै चर्चा हुन थालेको छ। अझ क्यान्सर जित्नेहरू समयमै उपचार गर्दा रूघाखाेकीजस्तै यो रोग निको हुन्छ भन्न थालेका छन्।
शुक्रवार नेशनल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरमा भेटिएका क्यान्सर विजेता प्रमिता खनाल, सुष्मा तिवारी र सिद्धि चन्द आफू जस्तै क्यान्सर बिरामीको काउन्सिलिङमा व्यस्त थिए। आफूलाई क्यान्सर लागेर निको भएपछि आफू जस्तै बिरामीका लागि परामर्श दिने र बिरामीको मनोबल बढाउने काममा उनीहरू लागिरहेका छन्।
व्यक्तिगत रूपमा काम गर्दा गाह्रो हुने भन्दै आफूहरूले एक वर्षअघि नेपाल क्यान्सर सर्भाइभर सोसाइटी नामक संस्था खोलेको संस्थाकी संरक्षक सिद्धि चन्दले बताइन्, जसमा क्यान्सर विजेताहरू सदस्य बन्न सक्छन्।
‘हामीले बिरामीको व्यथा बिरामीले मात्र बुझ्न सक्छन् भन्दै क्यान्सर अस्पतालमा गएर उनीहरूलाई यो रोग निको हुन्छ भन्ने ढाढस दिने काम गर्दै आएका छौँ’, संस्थाकी अध्यक्ष प्रमिता खनालले भनिन्, ‘मलाई क्यान्सर भएका बेला आफूलाई यो रोग निको हुन्छ, चिन्ता नलिऊ भन्दै कसैले भनिदिए पनि हुन्थ्यो झैँ लाग्थ्यो।’ आफ्ना ती दिन सम्झेर पनि यो काममा स्वयंसेवी रूपमा लागिरहेकाे उनी बताउँछिन्।
उनीहरूले अस्पतालमा गएर बिरामीको मनोबल बढाउने मात्र होइन। क्यान्सर ‘स्क्रिनिन क्याम्प’ गर्ने, आर्थिक रूपमा कमजोर बिरामीलाई सहयोग गर्ने समेत गर्दै आएका छन्।
क्यान्सर रोग विशेषज्ञ डा. मदनकुमार पियाले आजभोलि बिरामीहरू खुलेर आएको देख्दा निकै खुशी लागेको बताए। उनले भने, ‘बिरामीको कुरा बिरामीले छिटो विश्वास गर्छन्। यसले म पनि निको हुन्छु भन्ने मनोबल बढ्छ र रोगलाई जित्न सहयोग पुर्याउँछ।’





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?