यसकारण चाहिन्छ सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चेतावनीमूलक स्वास्थ्य सन्देश
चेतावनीमूलक चित्रात्मक सन्देशका कारण सेवन दरमा ५५ प्रतिशतले कमी
काठमाडौं: नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण बर्सेनि २५ हजार मानिसले ज्यान गुमाउने गरेकाे अनुमानित तथ्यांक छ। क्यान्सरको प्रमुख कारण मानिएको सुर्तीजन्य पदार्थको सेवन रोक्दा ६० प्रतिशत क्यान्सर कम हुने क्यान्सर विशेषज्ञ डा राजेन्द्रप्रसाद बरालले बताए। सुर्तीजन्य पदार्थमा हुने विभिन्न खालका ‘कासिंनोजेनिक’ पदार्थले क्यान्सर हुन मद्दत गर्ने उनले बताए।
‘सुर्तीजन्य पदार्थको बट्टामा ९० प्रतिशत चेतावनीमूलक सन्देश छापिन आवश्यक छ। यसले कम्तीमा खाने मान्छेलाई एक पटक तर्साउँछ’, उनले भने, ‘मेरा कति बिरामी त्यही डरलाग्दो चित्रका कारण चुरोट खान छोडेका छन्। त्यसैले पनि यो कानुन आवश्यक छ । भुटान ‘स्मोक फ्री’ देश भइसकेको सन्दर्भमा हामी पनि त्यसतर्फ लाग्नुपर्ने उनको भनाइ छ। जति धेरै प्रतिशत डरलाग्दो चित्र राख्न सक्याे त्यति नै यसकाे प्रभाव बढ्छ उनले भने।
मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले पछिल्लो समय चुरोटकै कारण युवावस्थामै हृदयाघात एवं मुटुरोग बढेको बताए। ‘एक खिल्ली चुरोट सेवनले मात्र पनि हृदयाघातको कारण बन्न सक्छ’, उनले भने, ‘सुर्तीजन्य पदार्थको बट्टामा ९० प्रतिशत मात्र होइन पूरै ढाकिने गरी राख्नुपर्छ।’
मुटुरोग बढ्नुको प्रमुख कारण चुरोट भएकाले यसलाई कम गर्न सबै लाग्नुपर्ने बताए। चेतावनीमूलक सन्देशले मानिसमा डर पैदा गरेर सेवन कम गराउन मद्दत गर्ने उनको तर्क छ। ‘यसमा पनि किन कानून पूर्णरूपमा कार्यान्वयन हुन सकेन मलाई सोध्न मन लाग्छ’, उनले भने, यो कानुन नमान्नेका छोराछोरीलाई पनि यसको सेवनले ज्यान लिन सक्छ भन्नेबारे सोच्नुपर्छ। ज्यान भन्दा ठूलो व्यापार हो र?’
यस्तै श्वासप्रश्वास रोग विशेषज्ञ डा रमेश चोखानीले चुरोटकै कारण दमको रोग लिएर आउने बिरामी हेरेको वर्षौँ भइसकेको बताए। ‘श्वासप्रश्वाससम्बन्धी रोगको प्रमुख जड नै चुरोट हो’, उनले भने,‘मकहाँ समस्या लिएर आउने ९० प्रतिशत बिरामीमा उक्त समस्या देखिनुको प्रमुख कारण चुरोटको सेवन हुन्छ।’ सरकारले यसलाई रोक्न कडा कानून ल्याउनुपर्ने उनले बताए। विद्यमान कानुनलाई पनि कार्यान्वयन गर्ने हो भने यो समस्या कम हुने उनको भनाइ छ। ‘चुरोटको बट्टामा डरलाग्दा क्यान्सर भएको, फोक्सो बिग्रेको चित्र राख्दा मानिस डराउँछन नै। योसँगै जनचेतामूलक कार्यक्रम पनि गर्न आवश्यक छ’, उनले थपे।
चुरोटको प्याकेटमा छापिएको चेतावनीमूलक चित्रात्मक सन्देशका कारण सेवन दरमा ५५ प्रतिशतले कमी आएको एक सर्भेक्षणले देखाएको छ।
सुर्तीजन्य पदार्थको प्रयोगविरुद्धको अभियानमा लाग्दै आएको एक्सन नेपाल नामक संस्थाले चार वर्षअघि देशका नौ जिल्लामा गरेको सर्भेक्षणले यस्तो नतिजा देखाएको हो।
एक्सन नेपालले सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ सुरु भएको एक वर्षपछि यो ऐन कत्तिको प्रभावकारी छ भनेर बुझ्न सर्भेक्षण गरेको थियो। सर्भेक्षणमा काठमाडौं भक्तपुर, ललितपुर, कास्की, कैलाली, बाँके, मोरङ, पर्सा र चितवन जिल्ला समेटिएको थियो।
उक्त सर्भेक्षणमा दुई हजार २५० जना सहभागी थिए जसमा चुरोट सेवनकर्ता ६७०, चुरोट छोडेका १९३ र कहिल्यै चुरोट सेवन नगरेका एक हजार ३८७ जना थिए।
उक्त सर्भेक्षणमा सेवनकर्ताहरुले चुरोटमा राखिएका डरलाग्दा चित्रका कारण आफ्नो सेवनदरमा कमी भएको बताएका थिए।
सर्भेक्षणमा सहभागी सेवनकर्ताले चित्रकै कारण दैनिक ११ खिल्ली सेवनबाट पाँच खिल्लीमा झरेको बताएका थिए। उनीहरुमध्ये ५८ प्रतिशतले चित्रकै कारण चुरोट छोड्ने मनस्थितिमा पुगेको बताएका थिए।
त्यस्तै सर्भेक्षणमा सहभागी पूर्वसेवनकर्तामध्ये ९५ प्रतिशतले प्याकेटमा राखिएको चित्रकै कारण आफूहरुलाई पुनः सेवन शुरु गर्नसक्ने सम्भावना टरेको बताएका थिए।
चुरोट सेवन शुरु नगरेका करिब ९० प्रतिशत किशोर तथा युवाले चित्रकै कारण आफूहरु सेवनको शुरुवात गर्नबाट जोगिएको बताएका थिए।
२०७२ जेठ १ गतेदेखि सुर्तीजन्य पदार्थको प्याकेटको कुल भागमध्ये ९० प्रतिशत भागमा चेतावनीमूलक चित्रअंकित स्वास्थ्य सन्देश आउनुपर्ने नियम भए पनि नेपालमा सबैभन्दा धेरै चुरोट उत्पादन गर्ने सूर्य नेपालले भने यो कानुन पालना गरेको छैन। यसविरुद्ध सूर्य नेपाल अदालत गएपछि यो मुद्दा साढे ३ वर्ष भइसक्दा पनि फैसला हुन सकेको छैन।
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य