हिमपातले बिरामीलाई झन् समस्या
जुम्ला : हिमपातसँगै बढेको अत्यधिक चिसोका कारण बिरामीको सङ्ख्यामा पनि वृद्धि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार दैनिक एकसयभन्दा बढी चिसोका बिरामी आउने गरेका छन्।
चिसोका कारण दम, रुघाखोकी, झाडापखाला र पेट दुख्ने बिरामी बढेका हुन्। चिसोले बिरामीलाई निकै सकस भएको छ। चिसो तथा अन्य समस्याका कारण बिरामीको सङ्ख्या बढेपछि प्रतिष्ठानले उपचारमा चासो बढाएको जनाएको छ।
प्रतिष्ठान भर्ना भएका चिसो तथा अन्य रोगका बिरामी जुम्ला, मुगु र कालिकोटका बढी छन्। गत हप्तादेखि भइरहेको हिमपातसँगै अत्यधिक बढेको चिसोले जनजीवन कष्टकर बन्नुका साथै हवाइ उडानसमेत हुनसकेको छैन।
कालीकोट र मुगुबाट गाडीमा आउने बिरामीलाई निकै सकस भएको छ । प्रतिष्ठानका चिकित्सक सूर्यमान लिम्बूले भने, ‘अन्य समयको तुलनामा अहिले चिसोका बिरामी बढिरहेका छन्, चिसोले विशेषगरी बूढाबूढी, बालबालिका र गर्भवती महिला समस्यामा छन्।’
उनका अनुसार प्रतिष्ठानमा आईसीयूसहित भेन्टिलेटर र अक्सिजन प्लान्टको व्यवस्था भएकाले सिटीस्क्यान गर्नुपर्नेबाहेक अरु बिरामी आएमा अन्यत्र सिफारिस गर्नुपर्ने स्थिति छैन।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?