प्रहरी अस्पतालमा साढे ६ हजार सर्वसाधारणकाे उपचार
काठमाडौं : नेपाल प्रहरी अस्पताल महाराजगञ्जले ६ हजार ४५० सर्वसाधारणको उपचार गरेको छ। २०७४ कात्तिक २६ गतेदेखि सर्वसाधारणका लागि उपचार खुला भएको सो अस्पतालले दुई हजार ८२१ पुरुष तथा तीन हजार ६२९ महिलाको उपचार गरेको हो।
यसअघि प्रहरी कर्मचारी र प्रहरीका आश्रित परिवारले मात्र सो अस्पतालबाट सेवा पाउँथे। सो अवधिमा दाँतका ७६८, नाक, कान र घाँटीका ४७८, आकस्मिक ४९३, आँखाका २७५, औषधोपचार एक हजार ३३२, गाइनो ४९९, अर्थोपेडिक एक हजार ३९ तथा छालाका ४६२ बिरामीले उपचार गराएका छन्। सामान्य कक्षमा ९७ तथा अति सघन कक्षमा १४ बिरामीको उपचार गरिएको छ।
नेपाल प्रहरीका आश्रित परिवारको उपचार गर्नका लागि २०२७ सालदेखि स्वास्थ्य सेवा प्रदान गरेको प्रहरीले २०४० चैत २७ मा सो अस्पताल स्थापना गरी सेवा प्रदान गर्दै आएको छ। प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले प्रहरी आश्रित परिवारलाई निःशुल्क उपचार गरे पनि सर्वसाधारणलाई भने सहुलियत दरमा विभिन्न रोगको उपचार गर्दै आएको बताए।
प्रहरी अस्पतालले विशिष्ट तथा अति विशिष्ट व्यक्तिको उपचारका लागि समेत छुट्टै कक्ष स्थापना गर्न लागेको छ। यसअघि वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा विशेष कक्ष भए पनि प्रहरीले पहिलोपटक उक्त कक्ष निर्माण गर्न लागेको हो।




अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’