‘सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिकको नैसर्गिक हक नखोस्नुहाेस्’
काठमाडाैं : त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा. गोविन्द केसीले संसदीय समितिबाट पारित भएको चिकित्सा शिक्षा विधेयक पारित भए चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधार र गुणस्तर नसुध्रिने दाबी गरेका छन्।
बिहीबार विज्ञप्ति जारी गर्दै डा. केसीले समितिबाट पारित भएर आएको चिकित्सा शिक्षा विधेयकमा जनमुखी र विद्यार्थीमुखी प्रावधान हटाइएको भन्दै सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिकको नैसर्गिक हक खोस्न खोजेको आरोप लगाएका छन्।
चिकित्सा शिक्षा ठिक नहुँदासम्म कुनै पनि हालतमा जनताको स्वास्थ्य ठिक बनाउन नसकिने उनको भनाइ छ। ‘आफ्नो नजिकमा गुणस्तरीय र सुलभ स्वास्थ्यको अभावका कारण छटपटिएका दूरदराजका आम नेपाली हुन् वा आफ्नो योग्यता भएर पनि पैसा अभावका कारण चिकित्सा शिक्षा लिन नपाएर प्रताडित विद्यार्थीहरू हुन्’, उनको विज्ञप्तिमा भनिएको छ, ‘तिनको मलिन अनुहारसँग पटक पटक ठोकिएका हामीहरूले एक पटक आफैलाई प्रश्न गरौँ के नेपालको चिकित्सा शिक्षा ठिक नभइकन तिनीहरू स्वस्थ रहन सक्लान? अनि तिनीहरूको अनुहारमा खुशी आउन सक्ला?’
१६ पटक अनशन बस्दा पनि त्यसमा व्यक्तिगत, समूहगत, कुनै दल वा कुनै संस्थाको स्वार्थ नभएको उनले बताएका छन्। ‘सर्वसुलभ र गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य मेरो सरोकारको विषय हो। सबैखाले सत्ता, शक्ति र आरोपहरूका बिचमा मैले गरेको प्रयास केवल पद्धति बसाल्नका निम्ति थियो, छ र रहनेछ’, उनले भनेका छन्।
चिकित्सा शिक्षालाई ठिक बनाउने क्रममा पटक पटकको संघर्षका कारण केही सुधारका संकेतहरू देखिन थालेको उनको भनाइ छ। प्रवेश परीक्षा समेत पास नभई विदेशमा पढ्न जाने हजारौँ विद्यार्थीहरू रोकिएका र जथाभावी रूपमा हुने सिट र शुल्क निर्धारण केही व्यवस्थित हुन थालेको उनको दाबी छ।
‘कम्तीमा पनि तपाईलाई मत दिएर पठाएका जनतासंग गरेको वाचा सम्झिनुहुनेछ र संसदीय समितिले गरेको त्रुटिलाई सच्याउँदै जनमुखी र विद्यार्थीमुखी चिकित्सा शिक्षा ऐन ल्याउन विवेकसम्मत निर्णय गर्नुहुनेछ’, उनले सांसदहरूसँग आग्रह गरेका छन्।
नेपाल सरकारले पछिल्लो पटक १५औं अनसनमा गरेको सम्झौता बमोजिमको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित हुने विश्वास डा. केसीले व्यक्त गरेका छन्।
हेर्नुहाेस् डा. केसीकाे विज्ञप्ति






व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य