जिल्ला अस्पतालमा रगत अभाव
नुवाकोट : जिल्ला अस्पताल त्रिशूलीमा रगत अभाव भएको छ। नियमित रक्तदान र दाताबाट रगत उपलब्ध नहुँदा जिल्ला अस्पतालमा रगत अभाव भएको रक्तसञ्चार केन्द्रले जनाएको छ।
गर्भवतीलाई शल्यक्रिया गरी सुत्केरी गराउन आवश्यक रगत पनि आफन्तले नै खोज्नुपर्ने अवस्था छ। केन्द्रका प्रमुख लक्ष्मी श्रेष्ठका अनुसार जिल्ला अस्पतालमा सामान्यतया दैनिक १० जनासम्म सुत्केरी हुन्छन्।
अधिकांशको शल्यक्रिया गरी बच्चा जन्माउने गरिएको डा. मधुकर दाहालले बताए। ‘सुत्केरीको अवस्था गम्भीर भएपछि शल्यक्रिया गर्न हतारिनु पर्छ, रगत अभावले झन समस्या हुन्छ’, उनले भने। सुत्केरी गराउन आउनेलाई पहिला नै रगतको जोहो गर्न आग्रह गर्ने गरिएको डा. दाहालले बताए।
दुर्घटनाका घाइतेलाई उपचार गर्न सधैँ रगत अभाव हुने गरेको छ। जिल्ला अस्पतालमा नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाले रक्तसञ्चार केन्द्र सञ्चालन गरेको छ ।
केन्द्रले आवश्यक रगत रक्तदान कार्यक्रम तथा दातालाई सम्पर्क गरी सङ्कलन गर्दै आए पनि पछिल्लो समय रक्तदान कार्यक्रम नहुँदा रगत अभाव भएको हो।
केन्द्र प्रमुख श्रेष्ठका अनुसार हरेक महीना कुन संस्थाले रक्तदान गर्ने, कुन समूहको रगत कुन दाताबाट सङ्कलन गर्ने भनेर तालीका बनाए पनि त्यो कार्यान्वयन हुन सकेको छैन।
दाताबाट सङ्कलन गरेको रगतलाई रक्त सञ्चार केन्द्रले स्वास्थ्य जाँच तथा परीक्षणका लागि ८०० रुपैयाँ लिई उपलब्ध गराउने गरेको छ।
केन्द्रमा रगत अभाव हुँदा यहाँका बिरामीका लागि नेपाली सेनाको श्रीनाथ गण देवीघाटमा कार्यरत सैनिक र जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीबाट रगत सङ्कलन गरिँदै आएको छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य