‘जङ्क फुड’ निषेध, जन्मदिनमा चकलेट बाँड्नेलाई कारबाही
रामपुर पाल्पाको एक विद्यालयमा ‘जङ्क फुड’ ल्याउन र जन्मदिनका अवसरमा चक्लेट बाँड्न निषेध गरिएको छ। रामपुर १० रामटारस्थित जनकल्याण माध्यमिक विद्यालयमा ‘जङ्क फुड’ ल्याउन र जन्मदिनमा चकलेट दिन निषेध गरिएको हो।
विद्यालयको वातावरणीय र पर्यावरणीय सुधार तथा स्वास्थ्य शिक्षासम्बन्धी चेतना जगाउन यस्तो गरिएको प्रधानाध्यापक आनन्दप्रसाद भण्डारीले बताए। विद्यालयमा ‘इको क्लब’ गठन गरेर घरमै तयार पारेका खाजा विद्यार्थीलाई प्रयोग गराउन तथा पत्रु खानाको प्रयोग रोक्ने निर्णय भएको छ।
बजारमा पाइने विभिन्न खानेकुराले विद्यार्थीको स्वास्थ्यमा असर गर्ने र पढाइमा समेत प्रभाव पार्ने भएपछि अब जन्मदिनको अवसरमा चकलेट वितरण नगरी शुभकामना आदानप्रदान मात्र गरिने शिक्षक दामोदर तिमिल्सिनाले जानकारी दिए।
पत्रु खाना बोकेर आउने र जन्मदिनमा चकलेट बाँड्ने विद्यार्थीलाई कारबाही गरिने प्रधानाध्यापक भण्डारीले बताए। पत्रु खाना लैजान नपाइने भएपछि विद्यार्थीले घरमै तयार पारेका रोटी, मकै, भटमासलगायतका खाजा झोलामा बोकेर स्कुलमा आउने गरेका छन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य