स्वास्थ्य संस्थामा सुत्केरी गराउने बढे
भोजपुर : जिल्लामा स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको छ। जिल्लाका ग्रामीण क्षेत्रमा स्थानीय तहसँगको सहकार्यमा ‘वान हर्ट वर्ल्डवाइड’ले ग्रामीण अल्ट्रासाउण्ड मेसिन र तालिम दिएपछि स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्या बढेको हो।
वान हर्ट वर्ल्डवाइडले सन् २०१६ को फेब्रुवरी महिनादेखि आमा र बच्चाको लागि सुरक्षा सञ्जाल नामक परियोजना सञ्चालन गरेपछि जिल्लाका आठ स्थानीय तहको ११ स्वास्थ्य संस्थालाई बोकेर हिँड्न मिल्नेखालको भिडियो एक्सरे मेसिन र तालिम दिइएको छ भने ३५ प्रसूति कक्षमा सहयोग पुर्याउँदै आएको छ ।
जिल्लाको आम्चोक गाउँपालिकालाई भने यस वर्षदेखि सो सेवा प्रदान गर्नका लागि मेसिन र तालिम सहयोग गरिने वान हर्ट वर्ल्डवाइड भोजपुरका जिल्ला संयोजक रविन जोशीले बताए। घुम्ती शिविरमार्फत आम्चोक गाउँपालिकामा १११, पौवादुङमा गाउँपालिकामा २२, भोजपुर नगरपालिकाबाट ६३ जनाले भिडियो एक्सरे सेवा लिएका छन्।
यो सेवा विस्तार भएपछि स्वास्थ्य संस्थामा गर्भवती जाँच र सुत्केरी हुने सङ्ख्यामा वृद्धि भइरहेको आम्चोक गाउँपालिकाका स्वास्थ्य संयोजक महिनारायण चौधरीले बताए।
मातृ तथा नवजात शिशु स्वास्थ्य क्षेत्रमा काम गर्ने यस संस्थाले बर्थिङ सेन्टरमा आवश्यकताअनुसार औजार उपकरण सहयोग, आवश्यकताअनुसार मर्मत तथा सुदृढीकरणमा सहयोग, सेवा प्रदायकलाई विभिन्न किसिमको क्षमता अभिवृद्धि तालीम, जनचेतनासम्बन्धी कार्यक्रम गर्दै आइरहेको छ।
तालीम प्राप्त नर्सहरूले ग्रामीण क्षेत्रमा बसोबास गर्ने गर्भवती महिलालाई पायक पर्ने स्थानमा गई भिडियो एक्सरे सेवा प्रदान गरी जटिलता पत्ता लगाई समयमै नजिकमा रहेको अस्पतालमा सिफारिस गरी आमा र शिशुको ज्यान बचाउने उद्देश्यका कार्यक्रम सञ्चालन गरिएको वान हर्टले जनाएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’