औषधि किन्न अक्षयकोष
बलेवा : बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा स्थापित सामुदायिक स्वास्थ्य एकाइले सञ्चालन गरेको अक्षयकोषका लागि करिब १२ लाख रुपैयाँ संकलन भएको छ।
बिरामीको उपचारमा आवश्यक औषधिको जोहो गर्न र कार्यालय व्यवस्थापनको स्रोत जुटाउन स्थापना गर्न लागिएको अक्षयकोषका लागि एकाइले सहयोग अभियान सञ्चालन गरेको हो।
एकाइले सञ्चालन गरेको अभियानमा हालसम्म ११ लाख ७० हजार रूपैयाँ सङ्कलन भएको एकाइ प्रमुख लोकबहादुर भण्डारीले जानकारी दिए।
गत असोजमा स्थापना भएको सामुदायिक स्वास्थ्य एकाइले सर्वसाधारणको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने गरी अक्षयकोष स्थापना गर्न लागेको हो। लोपोन्मुख अवस्थामा पुगेको स्थानीय सोरठी नाचको प्रदर्शन र स्वस्फुर्त चन्दा दानको माध्यमबाट सहयोग जुटाउने काम चलिरहेको छ।
‘हामीले स्थानीय सोरठी समूहसँग सहकार्य गरेर बेँसीजनमा देउसीभैलो खेलिरहेका छौँ’, भण्डारीले भने, ‘देउसीमा दान गर्ने र एकाइलाई माया गर्ने सबैको सहयोगले हाम्रो लक्ष्यभन्दा धेरै रकम संकलन भएको हो।’
पाँच लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्यका साथ शुरु गरिएको अभियानमा झण्डै १०० जनाले सहयोग गरेका छन्। स्थानीयवासीले पाँच हजारदेखि ६० हजार रुपैयाँसम्म सहयोग गरिरहेको भण्डारीले जानकारी दिए।
गाउँपालिकाले स्थापना गरेको स्वास्थ्य एकाइका लागि एक अहेब, एक अनमी र एक कार्यालय सहयोगी काममा खटाइएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’