बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टिए तीन विभाग
धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मेडिसिन विभागअन्तर्गत रहेका अन्य तीन विभागलाई अलग गरिएको छ।
एउटै विभागबाट विभिन्न रोगको विशेषज्ञ सेवा तथा शिक्षा प्रदान गर्न असहज भएपछि मुटु, फोक्सो, पेटसम्बन्धी छुट्टै विभाग बनाइएको प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरीशंकर साहले जानकारी दिए।
इन्टर्नल मेडिसिनलाई अहिले विभाजन गरी मेडिसिन कार्डियोलोजी विभाग, मेडिसिन पल्मोलोजी विभाग, मेडिसिन ग्याष्ट्रोलोजी विभाग बनाइएको छ।
कार्डियोलोजी विभागको प्रमुखमा मुटुरोग विशेषज्ञ प्रा.डा. प्रह्लाद कार्कीलाई जिम्मेवारी दिइएको छ। यस्तै फोक्सोसम्बन्धी विभाग पल्मोलोजीको जिम्मेवारी डा.नरेन्द्र भट्टलाई दिइएको छ। पेटसम्बन्धी ग्याष्ट्रोलोजी विभागको प्रमुखमा डा. विक्रम श्रेष्ठ नियुक्त भएका छन्।
यसअघि सबै विभागको प्रमुखमा प्राडा सञ्जीवकुमार शर्मा रहेका थिए। उनलाई जनरल मेडिसिनको विभागीय प्रमुखमा यथावत राखिएको अस्पताल निर्देशक साहले जानकारी दिए।
छ महिनाअघि नै कार्यकारिणी समितिमा विशेषज्ञ सेवाका लागि छुट्टै विभाग बनाउने सैद्धान्तिक निर्णय भएको तर जनशक्ति अभावले विभाग छुट्याइएको थिएन। सहज उपचार र शिक्षाका लागि मंगलबारदेखि छुट्टै विभाग सञ्चालनमा ल्याइएको प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारले जानकारी दिए। ‘एकै स्थानबाट धेरै सेवा दिँदा समस्या थियो, अब भने बिरामीलाई पनि सहज हुनेछ’, उपकुलपति रौनियारले भने।
प्रतिष्ठानमा बिरामीको चापलाई कम गर्न तथा मेडिकल शिक्षामा सबै विभागबाट सेवा सहजरूपमा उपलब्ध गराउन विभाग थप गरिएको प्रतिष्ठानका उपकुलपति प्रा.डा. रौनियारको भनाइ छ ।
प्रतिष्ठानले चाँडै मुटु र क्यान्सरका बिरामीका लागि विशेषज्ञ सेवा विस्तारका लागि छुट्टै भवन बनाउने तयारी थालेको छ।
क्यान्सर रोगको शल्यक्रिया, किमोथेरापी र रेडियसन थेरापी सञ्चालनका लागि अमेरिकास्थित विनय फाउण्डेशनसँग केही दिनअघि सम्झौतासमेत भएको छ। यो सेवा सञ्चालन भएपछि क्यान्सरका बिरामीले भरतपुर र काठमाडौं धाउन नपर्ने अस्पतालले जनाएको छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य