Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यमा चुनाैती बन्दै अस्पतालकाे फोहाेर

स्वास्थ्यमा चुनाैती बन्दै अस्पतालकाे फोहाेर

रत्ननगर : भरतपुरमा अस्पतालबाट निस्किने फोहोर मुख्य समस्याका रूपमा देखिएकाे छ। अस्पतालको फोहाेर व्यवस्थापन गर्ने आधुनिक प्लान्ट नहुँदा उपचारका लागि आउने बिरामी तथा कुरुवालाई समेत संक्रमण हुने सम्भावना छ।

भरतपुर महानगरमा क्यान्सरको उपचार हुने देशकै ठूलो बीपी मेमोरियल क्यान्सर अस्पताल, सरकारी अस्पताल भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेजलगायत झण्डै २६ अन्य ठूला निजी अस्पताल र १०० भन्दा बढी निजी क्षेत्रबाट सञ्चालित पोलिक्लिनिक छन्।

भरतपुरका अस्पतालबाट दैनिक दुई टन संक्रमित फोहाेर निस्किने गरेको महानगरपालिकाको तथ्याङ्कमा उल्लेख छ। अस्पतालहरूले फोहोरलाई परिसरभित्रै सामान्य सेप्टी ट्याङ्कीमा फाल्छन्। यस्ता फोहोरको दुर्गन्ध अस्पतालसम्मै आउने गरेको गुनासो बिरामीहरूको छ ।

अस्पताल सञ्चालनमा ल्याउँदा संक्रमित फोहाेरको प्रबन्ध आफैँ मिलाउँछौँ भनेर प्रतिबद्धता जनाए पनि खासै ध्यान दिने नगरेको भरतपुर महानगरपालिकाका प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए। ‘अस्पतालभित्र फोहोर छुट्याएर त राखिन्छ तर सबै एकै ठाउँमा’, अधिकृत सुवेदीले भने, ‘मानव स्वास्थ्यमा गम्भीर असर गर्ने यस्ता फोहाेर व्यवस्थापनमा बेवास्ता गरिएको छ।’

अस्पतालले सेप्टी ट्याङ्कीबाट कुहिएर निस्किने तरल पदार्थलाई खुला जमिनमै विर्सजन गर्दै आइरहेको छ। यस्ता फोहोरले मानव स्वास्थ्य र वातावरणमा सिधै असर पुर्रयाउँछ। लामो समयदेखि यस्ता फोहाेर व्यवस्थापनको कुरा चले पनि प्लान्ट निर्माणका लागि जग्गा अभाव देखाइने गरेको छ।

उचित स्थान, साधन र स्रोतको अभावमा प्लान्ट निर्माण गर्न सकिएको छैन। यसका लागि भरतपुर अस्पतालको जग्गामा डीपीआर गर्न भरतपुर महानगरपालिकाले  पाँच लाख रूपैयाँ छुट्याएको पनि छ।  यस्तै कोरियाली फोहाेर व्यवस्थापन कम्पनी सुडुकोनसँग प्लान्ट निर्माणका लागि सम्झौता पनि भइसकेको छ तर पनि कार्यान्वयनमा भने चासो देखाइएको छैन।

यहाँका अस्पतालले फोहाेर व्यवस्थापनका लागि अझैसम्म छुट्टै फोहर व्यवस्थापन समिति पनि बनाएका छैनन्। ती अस्पताललाई फोहाेर व्यवस्थापनका लागि सुझाव दिएका छाैँ’, भरतपुर महानगरपालिका वातावरण समितिका संयोजक पदमपाणि सुवेदीले भने, ‘अस्पतालमा फोहाेर व्यवस्थापन गर्न सहयोगसँगै अनुगमनलाई पनि तीव्रता दिन्छौँ।’

भरतपुर महानगरपालिकाले जिल्लाका निजी तथा सरकारीमा संक्रमित फोहाेरबारे अनुगमन गर्ने जनाएको छ। जिल्लाका सबै अस्पतालमा अनुगमन गर्ने निर्णय गरेको भरतपुर महानगरपालिकाका वातावरण शाखा प्रमुख विराट घिमिरेले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार