रहिनन् १५ हजारभन्दा बढी सुत्केरी गराउने ‘जननी अम्मा’
‘जननी अम्मा’ को नामले चिनिने कर्नाटककी प्रसव सहायक सुलगत्ती नरसम्माको ९८ वर्षको उमेरमा बेङ्लोरमा निधन भएको छ।
श्वासप्रश्वासको बिरामी उनी २९ नोभम्बरमा बेङ्लोरस्थित बीजीएस अस्पालमा भर्ना भएकी थिइन् भने पाँच दिनयता भेन्टिलेटरमा थिइन्। अस्पतालका अनुसार मंगलबार ३ बजे उनको निधन भएको हो ।
उनले स्वास्थ्यचौकी अभाव रहेको कर्नाटकको दुर्गम क्षेत्रमा मेडिकल सामग्रीविनै प्रसूति सेवा दिएकी थिइन्। उनले आफ्नो जीवनकालभर १५ हजारभन्दा बढी निःशुल्क प्रसव गराएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
समाजमा लुकेर रहेकी प्रतिभा भन्दै नरसम्मालाई यसै वर्ष भारतको सबैभन्दा ठूलो सम्मान पद्मश्री प्रदान गरिएको थियो। यस्तै टुमकुर विश्वविद्यालयले उनलाई मानार्थ विद्यावारिधिको उपाधि दिएको थियो।
कर्नाटकको टुमकुर जिल्लाको कृष्णापुरा गाउँकी उनी एक निरक्षर कृषि मजदुर थिइन्। तर प्रसव सहायकको रूपमा उनले चिकित्सकीय व्यवस्थाविनै निःशुल्क प्रसव गराउने काम गर्थिन्। उनको यही कामकै कारण उनलाई अम्मा उपाधि दिइएको थियो।
कुनै यन्त्रविनै उनी महिलाकाे गर्भमा रहेको बच्चाको धड्कन पनि जाँच्न सक्ने खुबी राख्थिन्। उनले सेवा दिएका गाउँका मानिसहरूका अनुसार पेट छोएको भरमा गर्भमा रहेको बच्चाको स्वास्थ्यको हाल जान्न सक्थिन्। याे सिप आफूले हजुरआमाबाट सिकेको बताउँथिन्।
नरसम्माका चार छोरा, तीन छोरी और ३६ नातिनातिना, पनाति पनातिनी रहेको बताइएको छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य