कैलालीमा एआरटी खाने बढे
कैलाली : जिल्लामा एक हजार २६१ एचआईभी सङ्क्रमितले एन्टी रेक्टोभाइरल (एआरटी) औषधि खाइरहेका छन् । आर्थिक वर्ष २०७२\७३ मा ९९८, वर्ष २०७३\७४मा एक हजार १५४ र वर्ष २०७४\७५ मा एक हजार २४१ ले यो औषधि खाइरहेका थिए।
जिल्लाको टीकापुर अस्पताल र धनगढीस्थित सेती अञ्चल अस्पतालमा रहेको एआरटी सेन्टरमार्फत यी बिरामीलाई उक्त औषधि उपलब्ध गराउने गरिएको छ। यस बाहेक गोदावरी नगरपालिकाको मालाखेती अस्पतालबाट पनि गएको साउनदेखि एचआईभीसङ्क्रमितलाई एआरटी औषधि खुवाउन थालिएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक महेश चन्दले जानकारी दिए।
एआरटी औषधि खानेमध्ये सबैभन्दा बढी महिलाको सङ्ख्या ६५४ छ। वयस्क पुरुष ४८४, समलिङ्गी १४ जना र बालबालिकाको सङ्ख्या १०९ छ। यो रोगप्रति बढेको चेतनाका कारण सङ्क्रमितहरू पहिलेको तुलनामा खुलेर आउन थालेको र रोग निदान तथा उपचारमा सरकारले अपनाएको नीतिका कारण पछिल्ला वर्षमा यो रोगबाट मृत्यु हुने क्रम घटेको पाइएको एचआईभी एड्स रोकथामको क्षेत्रमा कार्यरत एड्स हेल्थ केयर सेन्टरका माधव पन्तले बताए।
जिल्लामा गतवर्ष जम्मा छ हजार ४८१ जनाको एचआईभी जाँच गरिएकोमा ११५ जना सङ्क्रमित फेला परेका थिए। गएको साउनदेखि कात्तिकसम्म थप ६९३ जनाको जाँच गरिएकोमा २८ जना सङ्क्रमित फेला परेका छन्। एचआईभी देखिनेमध्ये सबैभन्दा बढी भारतमा काम गरेर फर्किने पुरुष कामदार र तिनका परिवार रहेको पाइएको एआरटी सेन्टरका लोकराज पनेरुले जानकारी दिए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’