नेपालमा सिस्टिसर्कोसिस उन्मूलन गर्न ‘टास्क फोर्स’ बन्ने
काठमाडौं : नेपालमा प्रमुख जनस्वास्थ्य समस्याको रूपमा रहेको सिस्टिसर्कोसिस अर्थात् नाम्ले किराका कारण हुने छारे रोग उन्मूलन गर्न ‘टास्क फोर्स’ बन्ने भएको छ।
अन्नपूर्ण रिसर्च सेन्टर,अन्नपूर्ण न्यूरो अस्पताल , स्वास्थ्य मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय लगायतका संस्थाको संयुक्त आयोजनामा सम्पन्न हिमालयन सिस्टिसर्कोसिस सम्मेलनमा काठमाडौं घोषणापत्र जारी गर्दै टास्क फोर्स बनाउने घोषणा गरिएको हो ।
‘सिस्टिसर्कोसिस उन्मूलनतर्फ’ नारासहित आयोजित दुई दिने सम्मेलनमा अष्ट्रेलिया, मेक्सिको, अर्जेन्टिना, जापान र भारत लगायतका विशेषज्ञहरूले आ–आफ्नो देशमा भएका समस्या र समाधानका लागि चालिएका कदमका बारेमा प्रस्तुति दिएका थिए।

सम्मेलनका अध्यक्ष एवं वरिष्ठ न्यूरो सर्जन डा बसन्त पन्तले सम्मेलन एउटै विषयमा केन्द्रित भएकाले धेरै नै फलदायी भएको बताए। ‘यो सम्मेलनले बनाउने भनेको टास्क फोर्समा विभिन्न क्षेत्रका विज्ञहरू रहनेछन्, जसमा जनस्वास्थ्य विशेषज्ञ, मेडिकल डाक्टर, स्वास्थ्यकर्मी, रिसर्चर रहनेछन्’, उनले भने, ‘उनीहरूले सिस्टिसर्कोसिस उन्मूलन गर्नका लागि समुदाय स्तरमा गई यसको अध्ययन मात्र होइन, यसका लागि के के गर्न सकिन्छ भनेर समाधानको बाटो पनि सिकाउनेछन्।’
सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले सिस्टिसर्कोसिस नियन्त्रणका लागि सक्दो सहयोग गर्ने बताए। उनले भने, ‘यो ठूलो जनस्वास्थ्य समस्या हो, तर धेरैले बेवास्ता गरेका छन्। यसको निर्मूलनका लागि सरकारले सक्दो सहयोग गर्नेछ।’ २०० जना सहभागी सम्मेलनमा सिस्टिसर्कोसिससँग सम्बन्धित ३५ वटा कार्यपत्र प्रस्तुत भएका थिए।
नेपालमा वयस्कमा हुने छारेरोगमध्ये ६० प्रतिशत नाम्ले किराको कारणले हुने बताइन्छ। सुँगुर वा बंगुरबाट सर्ने रोग भए पनि यो नखानेलाई रोग नलाग्ने भन्ने होइन । यसको मासु नखानेलाई पनि यो रोग लाग्छ। सुँगुर वा बंगुरको प्रत्यक्ष समपर्कमा हुनेहरू भने यो रोगको अझ बढी जोखिममा हुने बताइन्छ।




अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’