स्वास्थ्य मन्त्रालयमा गैरस्वास्थ्यकर्मी सचिव नियुक्त गरेकाे भन्दै नेपाल चिकित्सक संघकाे आपत्ति
काठमाडौं : नेपाल चिकित्सक संघले सरकारले स्वास्थ्य मन्त्रालयमा गैर स्वाथ्य्यकर्मी सचिव नियुक्त गरेको भन्दै आपत्ति जनाएको छ। संघले नेपालको स्वास्थ्य सेवा ऐनमा व्यवस्था भए बमोजिम स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी स्वास्थ्यकर्मीले नै लिनुपर्ने बताएको हो।
‘स्वास्थ्य सेवा ऐनको दफा १९ अनुसार वरिष्ठ स्वास्थ्यकर्मी स्वास्थ्य सचिवमा नियुुक्त हुँदै आएकोमा’, संघद्वारा सोमबार प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘हाल उक्त ऐनको भावना र मर्मविपरीत गैर स्वास्थ्यकर्मीको स्वास्थ्य सचिवका रूपमा सरुवा गरिएको निर्णयबाट नेपाल चिकित्सक संघ स्तब्ध भएको छ।’
स्वास्थ्य क्षेत्र विशुद्ध प्राविधिक क्षेत्र भएको, स्वास्थ्य मातहतका निकायहरूको परिचालन र समन्वयकारी भूमिका निर्वाहमा चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रका विषयहरूको पर्याप्त ज्ञान भएको व्यक्तिले मात्र स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्नसक्ने अध्यक्ष डा.मुक्तिराम श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
‘स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यकर्मीकै नेतृत्व हुनुपर्दछ भन्ने मान्यताअनुरुप नेपालको स्वास्थ्य ऐन निर्माण भएको कुरा सर्वविदितै छ’, विज्ञप्तिमा भनिएको छ, ‘सरकार आफैँले निर्माण गरेको ऐनविपरीत सम्पूर्ण स्वास्थ्यकर्मी तथा चिकित्सकको भावनामा चोट पुग्नेगरी गरिएको यस प्रकारको निर्णयले नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई गम्भीर आघात पुर्याएको छ।
स्वास्थ्य सेवा प्रवाहमा तत्काल असर पर्ने भन्दै संघले उक्त निर्णय यथाशीघ्र फिर्ता लिन माग गरेको छ। सरकारकाे याे कदमविरूद्ध आ–आफ्नो स्थानबाट सशक्त विरोध जनाउन समेत सबै चिकित्सकलाई संघले आग्रह गरेकाे छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य