बालबालिकामा हुने दृष्टिदोष हटाउन नेपाल नेत्रज्योति संघद्वारा ‘रिच’ अभियान शुरू
काठमाडौं : बालबालिकामा हुने दृष्टिदोष हटाउन नेत्रज्योति संघले ‘रिच’ (रेफ्रक्टिभ एरर अमङ चिल्ड्रेन) नामक कार्यक्रम मंगलबार शुभारम्भ गरेको छ। अर्बिस इन्टरनेसनलको सहयोगमा सञ्चालन हुने उक्त कार्यक्रमले सुनसरी र झापाका सम्पूर्ण विद्यालय जाने बालबालिकाको आँखाजाँच गर्नेछ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आँखा स्वास्थ्यमा नेपालले ठूलो प्रगति गरेको भन्दै भविष्यका कर्णधार बालबालिकाको आँखा जोगाउन नेत्रज्योति संघले शुरु गरेको अभियानले धेरै बालबालिका लाभान्वित हुने बताए। उनले आँखा बाँचुञ्जेल मात्र नभर्इ मृत्युपछि पनि अरुका लागि काम लाग्ने अंग भएकाले यसलाई सानैदेखि जोगाउन विशेष कदम चाल्नपर्नेमा समेत जोड दिए ।
कार्यक्रममा विराटनगर आँखा अस्पतालबाट सुनसरी र मेची आँखा अस्पतालबाट झापा जिल्लाका सम्पूर्ण विद्यालय जाने बालबालिकाको आँखाजाँच र सम्पूर्ण उपचार निःशुल्क गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष प्रा.डा.तीर्थप्रसाद मिश्रले जानकारी दिए।
‘आँखा स्वास्थ्यको कुरा गर्दा धेरै मोतियाबिन्दुको मात्र प्रसंग आउँछ’, उनले भने, ‘अब बालिबालिकामा हुने दृष्टिदोषमा पनि काम गर्ने बेला भयो भनेर हामीले यो कार्यक्रम शुरु गरेका हौँ।’ तीन वर्षे अभियानमा विद्यालय जाने पाँच लाख बालबालिकाको आँखा जाँच गर्ने लक्ष्य राखेको पनि उनले बताए ।
यसैगरी निमित्त स्वास्थ्य सचिव डा.सुशीलनाथ प्याकुरेलले पछिल्लो समय प्रविधिको विकासको कारणले पनि बालबालिकाको आँखामा समस्या बढ्दै गएको बताए। कम्प्युटर र मोबाइलको बढ्दो प्रयोगले बिग्रिँदै गएको उनीहरूको आँखा जोगाउन अभिभावक पनि चनाखो हुनुपर्ने उनको भनाइ छ।
विगत ३० वर्षदेखि अन्धोपन रोकथाममा काम गर्दै आएको अर्विस इन्टरनेसनलले नेपालमा बालबालिकासम्बन्धी बालनेत्ररोग विशेषज्ञ उत्पादन गर्न एवं आँखा अस्पतालमा बाल नेत्र विभाग स्थापना गर्न सहयोग गर्दै आएको छ।






व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य