Health TV Online
Health TV Online
Health TV Online

अपागंता सम्बन्धी बृहत नीति ल्याउने तयारीः प्रधानमन्त्री ओली

अपागंता सम्बन्धी बृहत नीति ल्याउने तयारीः  प्रधानमन्त्री ओली

काठमाडौँ: अाज डिसेम्वर ३ अर्थात विश्व अपांगता दिवस। दिवसकाे अवसरमा  प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, नीति र कानूनमा अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा, पुनःस्थापना, सहभागिता र समावेशीकरणलाई प्राथमिकतामा राखिने बताएका छन् ।
सत्ताइसौँ अन्तर्राष्ट्रिय अपागंता दिवसका उपलक्ष्यमा आज शुभकामना सन्देश दिँदै उनले अपागंता भएका व्यक्तिको सेवा सुविधा र अवसरलगायतमा समान पहुँच हुनै पर्दछ, उनीहरुले पनि अरुसरह लाभान्वित हुन पाउनु पर्दछ भन्ने मान्यतामा नेपाल सरकार प्रतिबद्ध रहेको जनाएका छन। “अपांगता भएका व्यक्ति विभेद र अवरोधका कारण क्षमता हुँदाहुँदै पनि समाजको सक्रिय नागरिकका रूपमा जीवनका हरेक क्षेत्रमा सहभागी हुननसक्ने विगतको अवस्थामा परिवर्तन ल्याउन वर्तमान सरकार अग्रसर भइसकेको छ”, सन्देशमा भनिएको छ ।

सन्देशमा नेपालमा अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि, २००६ को पक्ष राष्ट्र भएको उल्लेख गर्दै सरकारले उक्त महासन्धिको धारा ९ लाई कार्यान्वयन गर्ने क्रममा सार्वजनिक संरचना र सूचना तथा सञ्चार प्रणालीमा अपांगता भएका व्यक्तिको पहुँच सुनिश्चित गर्न आवश्यक नियम र मापदण्ड लागू गरिसकेको उल्लेख गरिएको छ ।

विसं २०३९ मा बनेको अपाङ्ग संरक्षण तथा कल्याण ऐनलाई पुनःलेखन गरी विसं २०७४ देखि अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन लागू गरिसकिएको जनाउँदै सन्देशमा उक्त ऐनमा अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क शिक्षालगायत, पुनःस्थापना, रोजगारी, सहायक सामग्री, जनचेतना, सशक्तीकरण र सामाजिक सुरक्षाका प्रावधान समावेश गरिएको जनाइएको छ ।

प्रधानमन्त्री ओलीले सन्देशमा सरकारले अपाङ्गता भएका व्यक्तिको विकास र सशक्तीकरणका लागि छुट्टै बृहत् नीति र कार्ययोजना ल्याउने तयारी पनि गरिरहेको जानकारी दिएका छन् ।

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार