Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

औषधि ‘जीवनभर’ होइन, जीवनका लागि…

औषधि ‘जीवनभर’ होइन, जीवनका लागि…
उच्च रक्तचाप अथवा ‘हाइ ब्लडप्रेसर’ हामी सबैले सुन्दै भोग्दै आएको रोग हो। उच्च रक्तचाप विकसित, विकासोन्मुख र अविकसित देशहरू सबैमा देखिएको रोग हो र यसको उपचार सम्भव छ।
उपचार गराइएन भने यसले व्यक्तिको प्राणघातक रोगजन्य अवस्थाको सृजना गर्छ। विकसित देशहरुमा स्वास्थ्यको प्रतिरोधात्मक अनुसन्धानहरुको व्यापकताले गर्दा पत्ता नलागेका र उपचार नगराइएका उच्च रक्तचापका बिरामीहरुको संख्या २० प्रतिशतमा झरिसकेको छ भने हाम्रो देशमा भएका स–साना अनुसन्धान तथा खोज एवं स्वास्थ्य परीक्षणको अभावमा कति बिरामी उच्च रक्तचापको रोगी भईकन पनि स्वास्थ्योपचारको दायरामा आउन सकिराखेका छैनन् भन्ने कुराको यकिन गर्न गाह्रो छ।
ब्लडप्रेसर भनेको के हो र उच्च रक्तचापले केके गर्छ भन्ने कुरा बुझ्नु नितान्त जरुरी छ। ब्लड प्रेसर अथवा रक्तचाप भनेको हाम्रो शरीरमा भएका शुद्ध रगत बग्ने रक्तनलीहरुमा रगतले नलीमा पारेको चाप हो। रक्तचाप बढ्यो भने मुटुलाई जोडले रगत पम्प गर्नुपर्ने हुँदा धक्का पर्छ र मुटुलाई आफ्नै लागि चाहिने अक्सिजनको मात्रा बढ्दछ। त्यसको साथै मुटु बाक्लिदै जान्छ र मुटु सुनिनई आफ्नो पम्प गर्ने शक्ति क्षीण हुन्छ। त्यसपछि त ‘हार्ट फेल’ अर्थात् मुटुले आफूमा फर्किने र शुद्ध रगत पम्प गर्ने शक्ति आवश्यकता अनुसार हुँदैन।
उच्च रक्तचाप यदि समयमै ठीक पारिएन भने शरीरका सबै रक्तनलीहरु बाक्लिँदै जान्छ र रक्तप्रवाहमा अवरोध उत्पन्न हुन्छ। यसमा पनि केहीगरी ‘डिस्लाइपिडिमिया’ अर्थात् ‘कोलेस्ट्रोल’जन्य रोगहरु भएमा आगोमा घिउ थपे बराबर हुन्छ। हृदयाघातको एक प्रमुख कारण उच्च रक्तचाप हो। उच्च रक्तचापका रोगीहरुको राम्रो औषधिको उपचारको अभाव भएको जमानामा ती रोगीहरुको औसत उमेर १० देखि २० वर्षसम्म कम हुने गथ्र्यो। तर अहिले पनि थोरै बढेको ‘ब्लड पे्रसर’का बिरामीहरुलाई पनि सातदेखि १० वर्षसम्ममा ठूला समस्याहरु देखा पर्छ।
उच्च रक्तचापले देखाउने प्रमुख समस्यामध्ये हृदयाघात, मुटु फेल हुने, मिर्गाैला फेल हुने, मस्तिष्कमा रक्तस्राव भएर हुने पक्षघात, आँखाको पर्दामा हुने समस्याले गर्दा आउने अन्धोपन प्रमुख छन्। मोटोपन, मधुमेह, कोलेस्ट्रोलजन्य पदार्थको रोग, धूमपान र अत्यधिक मद्यपानले माथि उल्लेखित सबै प्राणघातक तथा दृष्टिघातक रोगहरु ल्याउनमा ठूलो मद्दत गर्दछ। रक्तचाप बढ्नु भनेको रिसाउनु होइन।
साधारण किसिमको टाउको दुख्नु बाहेक यसले केही गर्दैन। तर भित्रभित्रै प्राणघातक रोगको सिर्जना गरिसकेको हुन्छ। त्यसैले यसलाई ‘मूक ज्यानमारा’ अथवा ‘साइलेन्ट किलर’ भनिन्छ। ब्लड प्रेसर कति त? अमेरिकाको ‘नेसनल इन्स्टिच्युट अफ हेल्थ, नेसनल हार्ट लङ एन्ड ब्लड इन्स्टिच्युट’को संयुक्त राष्ट्रिय समिति–९ को प्रतिवेदनअनुसार सामान्य रक्तचाप माथिल्लो १२० मिलिमिटर मर्करी वा त्यसभन्दामुनि र तल्लो ८० मिमि मर्करी वा मुनि हुनुपर्छ। माथिल्लो १२०–१३९ सम्म र तल्लो ८०–८९ सम्मलाई रक्तचापपूर्वको अवस्था(प्री–हाइपरटेन्सन)को वर्गमा राखिएको छ। उच्च रक्तचापको अवस्था–१ १४०–१५९ र उच्च रक्तचाप–२ १६० भन्दामाथि र १०० अथवा सो भन्दा माथिको अवस्थालाई मानिएको छ।
अहिले अमेरिकन हार्ट एसोसिएसनले सन् २०१७ मा उच्च रक्तचापलाई नयाँ वर्गीकरण गरेको छ। हामीकहाँ त धेरैजसो बिरामीलाई १००÷७० भयो भने सबैलाई थाहा भएको १२०÷८० रक्तचापभन्दा मुनि भएकोले धेरैले ‘कम रक्तचाप’ अथवा ‘लो प्रेसर’ भनिने गरिएको छ। त्यो सरासर गलत हो। फेरि कुनै ६० वर्ष काटिसकेको तल्लो रक्तचाप ९० रहेछ भने यो त परिपक्क अवस्थाको देन हो भनेर चित्त बुझाउने गरिएको छ।
यसो भनेर त्यस्ता बिरामीहरु ढुक्क भएर गल्ती गर्ने गर्छन् भने लो प्रेसरका बिरामीहरु आफू साधारण नभएर कमजोर व्यक्ति परेछु भन्ने गलत अवधारणाको कारण चिन्ताग्रस्त भएर क्लिनिक, अस्पताल र नर्सिङ होमहरु धाउने गर्छन्। कतिले त लो प्रेसर भयो भनेर जीवन जल सेवन गर्छन्। कति बिरामीहरु उच्च रक्तचापको कारण पत्ता लगाउन क्लिनिक, नर्सिङ् होम र अस्पताल धाएर हजारौँ रुपैयाँ खर्च गर्न मन पराउँछन्। तै पनि पत्ता नलागेपछि आजित भएर सोध्छन्। ‘होइन डाक्टर साहेब, किन मेरो ब्लड प्रेसर बढेको’। ब्लडप्रेसर बढ्नाको केही निको गर्न सक्ने कारणहरुमा ‘फियोक्रोमोसाइटोमा’, कुसिंग सिण्ड्रोम, मृगौलाको रक्तनली साँघुरो हुने रोग ‘रिनल आर्टरी स्टेनेसिस’ हुन्।
तर दुर्भाग्यवस ती कारणहरु ६ देखि ८ प्रतिशतभन्दा कम उच्च रक्तचापका रोगीहरुमा देखा पर्दछन्। यिनलाई डाक्टरी भाषामा ‘सेकेण्डरी हाइपरटेन्सन्’ भनिन्छ। ९२ देखि ९४ प्रतिशत उच्च रक्तचापका रोगीहरुमा जुनसुकै जाँचपड्ताल गरे पनि कारण पत्ता लाग्दैन र डाक्टरी भाषामा यसलाई ‘इसेन्सियल हाइपरटेन्सन’ भनिन्छ। सेकेन्डरी हाइपरटेन्सनका कारण पत्ता लागेर अपरेसन इत्यादि गरिँदा त्यस बिरामीले जिन्दगीभर ब्लड प्रेसरको औषधि खान नपर्ने हुन सक्छ। यस्ता ‘सेकेन्डरी हाइपरटेन्सन’ कसलाई भएको शंका गर्नुपर्छ त भन्ने कुरा उठ्छ नै। यदि कसैलाई २५ वर्षको उमेरभन्दा अघि वा ५० वर्षको उमेरभन्दा पछि उच्च रक्तचाप त्यो पनि एकदमै बढी लागेको रहेछ भने ‘सेकेन्डरी हाइपरटेन्सन’ हुने सम्भावना निकै धेरैहुन्छ।
अब कुरा आउँछ ब्लडप्रेसरको लागि के के गर्नुपर्दछ भन्ने, माथि उल्लेखित कुराहरु ध्यान गर्दा मोटोपन घटाउने, मधुमेह नियन्त्रणमा राख्ने, कोलेस्ट्रोल इत्यादि नियन्त्रणमा राख्ने, अत्यधिक मद्यपान नगर्ने, नियमित व्यायाम गर्ने, धूमपान पटक्कै नगर्ने र धुम्रपान गरेको व्यक्तिको छेउछाउमा पनि नबस्ने, कम नुन खाने र औषधि खानुपरेमा नटुटाइ खाने सर्वोत्तम उपाय हो।
औषधि खाएमा ‘जीवनभर’ खानुपर्दछ भन्ने डरले धरै बिरामीहरुले उच्च रक्तचापबाट हुने सबै खतरनाक प्राणघातक समस्या भोग्न तयार रहन्छन्। कतिपय त हृदयाघात भएर, मस्तिष्कमा रक्तस्राव भएर पक्षघात भएपछि या नथ्री फुटेर नाकबाट ह्वालह्वाल्ती रगत बगाएर, किड्नी फेल भएपछि पछुताउँछन्। चुरोट, रक्सी, खैनी, जाँड, तम्बाकु इत्यादि कुलतहरु जसले हानि नोक्सानबाहेक केही फाइदा गर्दैन भन्ने स्वयंसिद्ध कुरा थाहा भइकन पनि जिन्दगीभर खान एकपल्ट यसो फर्केर पनि हेर्दैनन् यहाँका मान्छेहरु। तर उच्च रक्तचाप नियन्त्रणमा राखेर मुटु दिमाग, मृगौला, आँखा इत्यादिलाई दियोलाई दुई हातले ढाकेर निभ्न नदिन भरपूर कोसिस गर्ने जस्तो प्रयास औषधिहरुको हुन सक्ने केही ‘साइड इफेक्ट’हरुको डरले नखानु ज्यादती नै हुन्छ।
त्यसैले रक्तचापको औषधि ‘जीवनभर’ होइन जीवनको लागि भन्ने मूल मन्त्र सबैले लिनु भएमा कल्याण होला। रक्तचाप जँचाउन क्लिनिक या अस्पतालमा आउने बिरामीहरुले बिहान खाली पेटमा ब्लडप्रेसरको औषधि खानुहुन्न भन्ठानेर डाक्टरछेउ पुग्छन्। डाक्टरले जाँच गर्दा त ब्लडप्रेसर ह्वातै बढेको पाइन्छ। अब समस्या कहाँ छ भने औषधि सेवन नभएर हो कि औषधिको मात्रा कम भएर त्यसो भएको भन्न गाह्रो हुन्छ। ब्लडप्रेसरको औषधि मधुमेहको औषधि जस्तो धेरैबेर खाना नखाने भए खान नहुने होइन। खाली पेट खान पनि हुन्छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि