श्वासप्रश्वास र आँखाका बिरामीको संख्या बढ्याे
बर्दिवास : महोत्तरीमा श्वासप्रश्वास र आँखाका बिरामीको संख्या बढेको छ। जिल्लाको सुदूर उत्तरी क्षेत्रको बर्दिवास नगरपालिकादेखि सुदूर दक्षिणी भेगको जलेश्वर नगर क्षेत्रका सबैजसो ठाउँमा अहिले श्वासप्रश्वास र आँखाका बिरामीको संख्या निकै बढेको अस्पताल र स्वास्थ्य संस्थाले जानकारी दिएका हुन्।
बर्दिवास नगर क्षेत्रका सरकारीदेखि निजी क्षेत्रका अस्पतालमा दिनहुँ स्वास्थ्य जाँच र उपचारका लागि पुग्नेमध्ये धेरैजसोमा श्वासप्रश्वास र आँखाको समस्या पाइने गरेको चिकित्सक र स्वास्थ्यकर्मीको भनाइ छ। पछिल्लोपटक मंसिर लागेपछि चिसो बढेसँगै दिनहुँजसो २५\३० सङ्ख्याको हाराहारीमा जाँचका लागि आउने नयाँ बिरामीमध्ये धेरैजसोमा श्वासप्रश्वास र आँखाको समस्या पाइने गरेको बर्दिवास अस्पतालका मेडिकल अधिकृत डा. किशोर अधिकारीले जानकारी दिए।
खासगरी धूमपानको लत भएका महिला, चिसो बढेसँगै राम्रो सम्भार नपाएका ५० वर्ष उमेर कटेकामा श्वासप्रश्वासको समस्या भेटिने गरेको बर्दिवास अस्पतालले जनाएको छ। जताततै लगातार उड्ने धूलो, धुँवाबाट बचेर हिँड्ने स्वास्थ्य सजगता नअपनाउँदा, मौसमअनुसार खानपान, लवाइ र अन्य आहार व्यवहारमा ध्यान नदिँदा श्वासप्रश्वासका थप बिरामी बढ्दै गएकाे बर्दिवास अस्पतालकै मेडिकल सुपरिटेण्डेन्ट डा. विधानचन्द्र झा बताउँछन्।
यसैगरी बर्दिवास आँखा अस्पतालका सञ्चालक मुकुन्दप्रसाद पौडेलले मंसिर लागेपछि आँखाका बिरामी निकै बढेकाे बताए। जिल्ला सदरमुकाम जलेश्वरस्थित जलेश्वर जिल्ला अस्पताल, गौशाला र सम्सीस्थित प्राथमिक स्वास्थ्य केन्द्र र जिल्लाका १५ वटै स्थानीय तहमा रहेका स्वास्थ्यचौकी र अन्य निजीस्तरमा सञ्चालित अस्पतालमा पनि श्वासप्रश्वास र आँखाका बिरामी आउने क्रम बढेको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’