Health TV Online
Health TV Online
Health TV Online

के स्वास्थ्य समस्या हाे प्रधानमन्त्री अाेलीकाे ?

के स्वास्थ्य समस्या हाे प्रधानमन्त्री अाेलीकाे ?

काठमाडौं : आफ्नै पार्टीले आयोजना गरेको चियापानमा शनिबार ‘सामान्य’ ज्वराे र रुघाखोकीका कारण प्रधानमन्त्री केपी ओली सहभागी हुन नसकेको समाचार आएपछि विभिन्न अड्कलबाजी काटियो।

प्रेस सल्लाहकार कुन्दन अर्यालले आइतबार प्रेस नोट जारी गरी ज्वरो नियन्त्रणमा आई प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बताए। स्वास्थ्यमा पूर्ण सुधार आएपछि अाेली सार्वजनिक कार्यक्रममा सहभागी हुने जानकारीसमेत दिए।

लगत्तै आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा समेत प्रधानमन्त्री ओली सहभागी भए। तर एकाएक सोमबार बिहान साढे ४ बजे उनलार्इ त्रिवि शिक्षण अस्पतालमा भर्ना गरियाे।

प्रधानमन्त्री अस्पताल भर्ना भएको खबर फैलिएपछि सर्वसाधारण र पार्टीका कार्यकर्ताहरूमा उनको स्वास्थ्यबारे चासो बढ्यो। आखिर प्रधानमन्त्रीलाई भएको के हो?

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठका अनुसार प्रधानमन्त्रीको शरीरमा चिनीको मात्रा असन्तुलिन र छातीमा संक्रमण देखिएको छ। तर अहिले उनकाे स्वास्थ्यमा सुधार आइरहेको उनले बताए।

प्रधानमन्त्री ओलीलाई केही दिनयता सुख्खा खोकीको समस्या थियो। चिसो बढेसँगै छातीमा समस्या देखिएको र खोकीबाट कफ ननिस्केका कारण श्वासप्रश्वासमा समस्या भएको उनको सचिवालयले जनाएको छ ।

दशैँ टीका लगाउने क्रममा धेरै जनासँग सम्पर्कमा आएका कारण प्रधानमन्त्री ओलीलाई रुघाखोकी सरेको चिकित्सकहरूकाे अनुमान छ। मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ। यस्तो अवस्थामा रुघाखोकीले सतायो भने संक्रमण चाँडै बढ्ने खतरा हुने चिकित्सकहरू बताउँछन्।

प्रधानमन्त्री ओलीको अवस्था सामान्य रहेको र पूर्वसावधानीस्वरूप अस्पतालमा लगिएको स्रोतले जनाएको छ। उपचारमा संलग्न डा.अरूण सायमीले उनको स्वास्थ्य अवस्थाबारे चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताए। अझै तीन दिन चिकित्सकको निगरानीमा राख्न सुझाव दिइएको उनले जानकारी दिए।

अहिले ओलीकाे उपचार डा. सायमी,  डा. दिव्या सिंह शाह र डा. सन्तकुमार दाससहितको टोलीले  गरिरहेकाे छ।

१२ वर्षअघि दुवै मिर्गौला प्रत्यारोपण गरेका ओलीलाई चिकित्सकले भिडभाड, धुँवाधूलो र  अधिक तनावबाट मुक्त रहन सुझाव दिएका थिए। उनी बैंककमा नियमित स्वास्थ्य परीक्षणमा जाने गरेका थिए।

प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले पनि प्रधानमन्त्रीकाे स्वास्थ्य अवस्थाबारे चिन्तित हुनुनपर्ने बताए। पूर्व सावधानीका लागि अस्पताल भर्ना गरिएको बताए। उनले प्रधानमन्त्रीको अवस्था सामान्य रहेको र भेट्न जानेसँग राम्ररी कुराकानी गरेको जानकारी दिए।

यसैबीच प्रधानमन्त्री ओलीले आफू स्वस्थ रहेको भन्दै स्वास्थ्यलाभको कामना गर्नेहरूप्रति आभार प्रकट गरेका छन्। नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमार्फत अाफू ठीक रहेको सन्देश पठाएका हुन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार