सरकारी अस्पतालमा औषधि अभाव
महोत्तरी : गौशाला नगरपालिकामा रहेका सरकारी अस्पतालमा औषधि अभाव भएको छ। यहाँका सरकारी स्वास्थ्य केन्द्रहरूमा सरकारद्वारा निःशुल्क उपलब्ध गराइने औषधिहरू नहुँदा बिरामीहरू मर्कामा परेका छन्।
एक हप्तादेखि ३९ किसिमका औषधि अभाव भएको सम्बन्धित निकायमा जानकारी गराइसकेको निगौल स्वास्थ्य चौकीका इञ्चार्ज अर्जुनबहादुर बोहराले बताए। दैनिक २० जनाको हराहारीमा उपचारका लागि आउने बिरामीलाई अहिले निजी क्लिनिकमा गएर उपचार गराउनुपर्ने बाध्यता रहेको इञ्चार्ज बोहराले बताए।
त्यस्तै नगरपालिकाकै सबैभन्दा ठूलो स्वास्थ्य संस्थाका रूपमा परिचित गौशाला प्राथमिक स्वास्थ्य चौकीमा पनि सिटामोल अभाव छ। चिकित्सक मनोज साहका अनुसार निःशुल्क रूपमा ५८ प्रकारका औषधि उपलब्ध गराउने स्वास्थ्य संस्थामा सिटामोलसमेत नपाएपछि स्वास्थ्य बिमा गराएकाहरूले समेत खाली हात फर्किनुपरेको छ। वडा नं. १ मा रहेको रामनगर स्वास्थ्य चौकीमा पनि औषधि अभाव भएको जनाइएको छ।
यहाँका छ स्वास्थ्यचौकी र एक प्राथमिक स्वास्थ्यचौकीमा औषधि अभाव भएको नगरपालिकामा जानकारी गराइसकेको जनस्वास्थ्य सहसंयोजक अशोककुमार महतोले बताए। एक महीनाअगाडि नै १५ लाख बराबरको बजेट औषधि खरिदका लागि बजेट उपलब्ध गराइए पनि प्राविधिक कारणले ठेक्का प्रक्रिया अगाडि बढाउन नसकिएको उनकाे भनाइ छ।
१२ वटा वडा रहेको उक्त नगरपालिकामा छ स्वास्थ्य चौकी र एक प्राथामिक स्वास्थ्य केन्द्र छन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य