स्वास्थ्य केन्द्रमै थन्कियाे मलेरियाकाे अाैषधि
बाजुरा : बूढीनन्दा नगरपालिकामा मलेरिया रोकथामका लागि छर्किनुपर्ने औषधि तीन महिनादेखि स्थानीय स्वास्थ्य केन्द्रमा थन्किएको छ। ती औषधि कोल्टीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा गत साउनदेखि थन्काइएकाे हाे।
औषधि साउनमा छर्किनुपर्ने भए पनि बजेट नभएको भन्दै छर्न नसकेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. सत्य शाहीले बताए। मलेरिया प्रभावित क्षेत्रमा छर्किन आवश्यक पर्ने रकम नगरपालिकाले नदिँदा ती प्राथमिक स्वास्थ्य केन्द्रमै रहेको शाहीले जानकारी दिए।
तराईमा मात्रै देखा पर्ने मलेरिया बाजुराको बूढीनन्दा नगरपालिका १, ६ र ५ वडामा देखा परेपछि परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाएको थियो। प्रयोशालाले पनि मलेरिया भएको प्रमाणित गरेपछि मलेरिया रोकथामका लागि सेभ द चिल्ड्रेनको सहयोगमा प्रभावित बस्तीमा छर्किन पाँच वटा ठूलो ड्रममा औषधि पठाएको थियो। वेलामा प्रयाेग नहुँदा लाखौँ मूल्यको औषधि खेर जाने खतरा देखिएको छ।
मलेरिया विशेषगरी गर्मी र वर्षामा फैलिन्छ। चैतदेखि जेठसम्ममा छर्कियो भने औषधिले तीन महिना काम गर्छ। साउनमा छर्किँदा भदौ, असोज र कात्तिकसम्म मलेरिया फैलिँदैन। तर, औषधि नछर्किँदा दैनिक एक\दुई जना मलेरियाका बिरामी अहिले पनि उपचार गराउन आउने गरेको डा. शाहीले जानकारी दिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?