स्वस्थ रहन चाहनुहुन्छ भने खानामा नटुटाउनुस् यी हरिया तरकारी
निउँरो
कतै यसलाई निउँरो त कतै निगुरो भनिन्छ। पौष्टिकताले भरपूर भएर पनि कतिले त यसको नाम सुनेकासम्म पनि हुँदैनन्। यो प्रायः ओसिलो ठाउँमा पाइन्छ। यसमा भिटामिन ए र सी, केही प्रोटिन तथा कार्बोहाइड्रेट पाइन्छ। १०० ग्राम निउँरोमा ३४ क्यालोरी, ४.५५ प्रतिशत प्रोटिन, ०.४ ग्राम चिल्लो, १.३१ मिलिग्राम आइरन पाइन्छ।
निउँरो आँखाको रोग र प्रतिरोधात्मक शक्ति सुधार गर्न उत्तम मानिन्छ। यसलाई आलुसँग मिलाएर पकाउन सकिन्छ। अझ गोलभेँडासमेत राखेमा झनै स्वादिलो हुन्छ। निउँरो उसिनेर तिल वा आलसको छोप, नून, कागती मिलाई सलाद बनाए झनै पोसिलो हुन्छ। कति जनाले निउँरोको स्वाद थाहा नपाएकाले खान चाहँदैनन्। बिस्तारै स्वाद लिँदै जाँदा भने मीठो लाग्छ।
फर्सीको मुन्टा
फर्सीको मुन्टामा प्रोटिन, भिटामिन ए, बी, सी, आइरन तथा आवश्यक खनिज पदार्थ धेरै हुन्छ। त्यसैले यसको तरकारी बनाएर खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । घिउ हालेर फलामको भाँडोमा पकाएको फर्सीको मुन्टा र गोलभेँडाको तरकारीसँग भात मीठो हुन्छ। फर्सीको फूल पनि पकौडा र तरकारी बनाउन प्रयोग गरिन्छ।
अन्य हरिया साग
बेथे, लट्टे, तोरी, खोली आदि साग पनि स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। यस्तो साग हाम्रै गाउँघरमा पाइन्छ तर यसको पोषण मूल्यको ज्ञान नभएकाले हामीले वास्ता गरेका हुँदैनौँ। यी सबै हरिया सागमा एन्टिअक्सिडेन्ट अत्यधिक हुन्छ, जसले महत्त्वपूर्ण मात्रामा भिटामिन तथा खनिज प्रदान गर्छ। रेसादार पदार्थ पनि प्रशस्त मात्रामा हुन्छ।
प्रायः सबै हरियो तरकारीलाई फलामको भाँडोमा पकाउँदा र ज्वानो झान्दा स्वादमा वृद्धि हुन्छ। यस्तो साग सजिलोसँग पच्ने पनि हुन्छ।
जनस्वास्थ्यविज्ञ डा. अरूणा उप्रेतीकाे फेसबुकबाट




अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’