‘डा.केसीकाे अनशनकै भरमा चिकित्सा शिक्षा विधेयक पारित गर्न हुँदैन’
काठमाडौं : त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले संसद्मा विचाराधीन चिकित्सा शिक्षा विधेयक पारित गर्न नहुने धारणा राखेका छन्। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित उपसमितिको बैठकमा आइतबार उनीहरूले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा डा. गोविन्द केसीको ‘गुण्डागर्दी’ चलिरहेको टिप्पणी गरे।
त्रिविका उपकुलपति तीर्थराज खनियाँ, रजिस्ट्रार डिल्लीराम उप्रेती र शिक्षाध्यक्ष सुधा त्रिपाठीले यो विधेयक र प्रस्तावित चिकित्सा शिक्षा आयोग स्वीकार्य नहुने र संसदीय समितिले समेत स्वीकार्न नहुने बताए । ‘केसी अनशनमा बसेकै कारण हचुवाका आधारमा विधेयक ल्याइएको छ’,उपकुलपति खनियाँले भने।
कसैको दबाबमा चिकित्सा शिक्षा आयोग बनाउँदा विश्वविद्यालयहरूको स्वायत्तता र अधिकारमाथि नै ठाडो हस्तक्षेप हुने रजिस्ट्रार उप्रेतीकाे तर्क छ। ‘चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा राजनीतिक हस्तक्षेपको कडीका रूपमा विधेयक आएको हाे’, शिक्षाध्यक्ष सुधा त्रिपाठीले भनिन्।
डा.केसीले भने त्रिवि पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने माग राख्दै आएका छन् । पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वमा गठित आयोगले समेत त्रिवि र काठमाडौं विश्वविद्यालयका पदाधिकारीलाई मेडिकल कलेजको सम्बन्धन, विद्यार्थी कोटा र शुल्क निर्धारणमा अनियमितता गरेकामा कारबाही गर्न सिफारिस गरेको छ ।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बाँस्कोटाले भने विधेयक स्वीकार्न नहुने त्रिवि पदाधिकारीको भनाइ गलत रहेको बताए । उनले चिकित्सा शिक्षा र सेवा सुधारका लागि तत्काल विधेयक पारित गरी आयोग गठन गर्नु अपरिहार्य भइसकेको तर्क गरे।




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण