चार वधशालामा सरकारी सिल
काठमाडौं : अस्वस्थकर मासु तयार गर्ने ललितपुरका चार वटामा वधशालामा सरकारले प्रतिबन्ध लगाएकाे छ।
कृषि मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र ललितपुर महानगरपालिकाको संयुक्त टोलीले शुक्रबार बिहान वधशालाको स्थलगत अनुगमन गर्ने क्रममा चार वटा सिलबन्दी गरेको हो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिव कर्णले स्वास्थ्यका लागि उक्त मासु खान अयोग्य रहेकाले सुधार नगर्दासम्म बिक्री वितरणमा प्रतिबन्ध लगाइएको बताए ।
आरके मिट सप, ए वान मिट सप तथा देव खड्गी र सुनिल शाहीले सञ्चालन गरेका वधशालामा शिलबन्दी गरिएको हाे। लक्ष्मी मिट सपलाई भने सचेत गराइएको छ। अधिकांश वधशालामा कुहिएका मासु पाइएको थियो। त्यही मासुलाई बजारमा बेच्न लैजाने गरेको पाइएको थियो।
अनुगमन गरिएका पाँचमध्ये न्यूनतम मापदण्ड पूरा नगर्ने चार वटामा शिलबन्दी गरिएको र एउटालाई सचेत गराइएको कृषिमन्त्री चक्रपाणि खनालका प्रेस संयोजक बाेमलाल गिरीले जानकारी दिए।
काटेको मासु नष्ट गर्नका लागि महानगरपालिका र नगर प्रहरीको जिम्मा लगाइएको विभागले जनाएको छ ।




जडीबुटी : नेपालको स्वास्थ्य र समृद्धिको हरित पुँजी
यसकारण खाने गरौं बहुगुणकारी कुरिलो
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
औषधिको सही प्रयोग किन आवश्यक छ ?