नगरपालिकामै छैन प्रसूतिगृह, घरमै सुत्केरी हुनुपर्ने बाध्यता
अछाम : कमलबजार नगरपालिका–३ बयालाका महिला प्रसूति हुन स्वास्थ्य संस्थामा जानुपर्छ भन्नेमा जानकार छन्, तर नजिकै प्रसूतिगृह नहुँदा घरमै सुत्केरी हुनुपर्ने बाध्यता छ।
सुत्केरी व्यथा लागेर अप्ठ्यारो अवस्था आएको खण्डमा मात्रै बयालाका महिला छिमेकी गाउँका स्वास्थ्य संस्था, सदरमुकाम मंगलसेन र छिमेकी जिल्ला दैलेखको राकम बजार पुग्ने गरेका छन्।
गाउँमा दुई वर्ष अघिदेखि बर्थिङ सेन्टर निर्माण शुरु भए पनि काम सम्पन्न नभएकाले महिलाले दुःख पाएको स्थानीय महिला स्वास्थ्य स्वयंसेविका दुर्गा बिक बताउँछिन्। भन्छिन्, ‘धेरैजसो महिला घरमै सुत्केरी हुने गरेका छन्। कति त स्वास्थ्य संस्था लैजाँदै गर्दा बाटोमै सुत्केरी हुन्छन्।’
निर्माणाधीन रहेको स्वास्थ्यचौकी भवन दुई वर्ष भइसक्दा समेत निर्माण पूरा भएको छैन। दशैँअगाडि नै नयाँ भवनबाट स्वास्थ्य सेवा दिने गरी काम अगाडि बढाएको वडा नं ३ का कार्यवाहक अध्यक्ष हर्क भण्डारीले बताए।
१० स्थानीय तह र ९१ वडा रहेका अछाममा ६५ प्रसूतिकेन्द्र मात्रै सञ्चालनमा रहेको जिल्ला स्वास्थ्यको तथ्यांक छ। भूगोल, जनसङ्ख्या र विकटताका कारण अझै कतिपय ठाउँमा प्रसूतिगृह नहुँदा सुत्केरी हुने महिला जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएकाे छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण