बेनी अस्पतालमा महिनाैँदेखि भद्रगाेल
म्याग्दी : सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र व्यवस्थापकीय रूपमा नेतृत्वविहीन हुँदा सेवा प्रभावित बनेको छ।
प्रदेश सरकार र अस्पताल विकास समितिले नेतृत्व चयनमा ध्यान नदिँदा अवस्था भद्रगोल बनेकाे हो। बेनी अस्पतालका प्रमुख डा. रोशन न्यौपानेको दुई महिना अघि स्वास्थ्य मन्त्रालयमा सरुवा भएको छ। उनको सरुवा पछि मन्त्रालयले अर्को कर्मचारी पठाएको छैन।
हाल मेडिकल अधिकृत भूषण सुवेदीलाई अस्पतालको निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ। कार्यालय प्रमुख नहुँदा आर्थिक गतिविधि ठप्प छ। अस्पतालका स्रोत साधनको दुरुपयोग हुन थालेको छ। निगरानी र नियन्त्रण नहुँदा सेवा प्रवाह कमजोर बन्न थालेको सर्वसाधारणको गुनासो छ। नेतृत्वको अभावमा काम गर्न कठिनाइ भएको मेडिकल अधिकृत विराट शर्माले बताए।
‘दरबन्दीअनुसार चिकित्सक नहुँदा काम गर्न समस्या भएको छ’, उनले भने, ‘प्रदेशको विभागीयमन्त्री र सङ्घीय मन्त्रालयलाई जानकारी गराए पनि सुनुवाइ भएको छैन।’
आर्थिक विषयमा निमित्तलाई निर्णय गर्ने अधिकार नहुँदा एम्बुलेन्ससमेत मर्मत गर्न सकिएको छैन। उपकरण र जनशक्ति तयार भए पनि नेतृत्वको अभावमा डायलाइसिस सेवा शुरु गर्न ढिला भएको छ। जनशक्तिको व्यवस्था र उनीहरूलाई तालिमसमेत दिएर डायलाइसिस सेवा शुरु गर्ने तयारी गरे पनि नेतृत्व गर्ने व्यक्ति नहुँदा अन्योल भएको अस्पतालका चिकित्सक नवराज बास्ताकोटीले बताए।
तीन वर्षअघि पचास शय्यामा स्तरोन्नति भएको अस्पतालमा चार मेडिकल अधिकृत र नौ विशेषज्ञ चिकित्सको दरबन्दी छ। हाल दुई मेडिकल अधिकृत र एक विशेषज्ञ चिकित्सक मात्र कार्यरत छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण