नगरपालिका चलाउँदै २५ शय्याको अस्पताल
रुकुम पश्चिम : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक जना डाक्टर दिने भएपछि आठबिसकोट नगरपालिकाले २५ शय्याको अस्पताल सञ्चालन गर्ने भएको छ।
डाक्टर उपलब्ध गराउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र नगरपालिकाबीच सम्झौता भएको छ । प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्ले र नगर प्रमुख गोरखबहादुर केसीले १० बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
प्रतिष्ठानले खटाएको तलबभत्ता प्रतिष्ठान आफैँले र यातायात खर्च दैनिक भत्ता प्रतिष्ठानको नियमानुसार नगरपालिकाले बेहोर्नेछ। प्रतिष्ठानले खटाएको डाक्टर अस्पतालको प्रमुख हुने, प्रतिष्ठान र नगरपालिकाको संयुक्त आयोजनामा विशेषज्ञ शिविर आयोजना गर्ने, प्रतिष्ठानले उक्त अस्पतालमा टेलिमेडिसिन सेन्टर समेत स्थापना गर्ने सम्झौता भएको छ।
अस्पतालका लागि अन्य पूर्वाधार तथा व्यवस्थापनका सबै काम पूरा भइसकेका छन्। हाललाई साविकको स्वास्थ्य चौकी र विद्यालय भवनको प्रयोग गरी अस्पतालको शय्या बनाइएको छ।
अन्यत्र गाभिएका विद्यालयका कोठा भत्काएर अस्पतालको शय्या बनाइएको हो । अहिले वडा ९ को राडीमा अस्थायी रूपमा अस्पताल सञ्चालन गरिने र अस्पतालको पक्की संरचना ११ मा बनाइने नगरपालिकाले जनाएको छ।
त्यसका लागि आधारभूत काम भइसकेको नगरप्रमुख केसीले बताए । ‘संविधानले प्रत्येक नगरमा २५ शय्याको अस्पताल हुने परिकल्पना गरेको छ, त्यसको कार्यान्वनमा लागेका हौँ,’ उनले भने।
किष्ट अस्पतालमा सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषको स्वास्थ्य सुविधा
चिकित्सक उत्पादनमा फड्को, पलायनले राज्यलाई ठूलो नोक्सानी
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने
डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान