यसरी स्वस्थ राखौँ बच्चाको दाँत
दाँत मानव शरीरको अति नै महत्त्वपूर्ण अंग हो। दाँतबिना स्वस्थ जीवनको परिकल्पना पनि गर्न सकिँदैन। त्यसैले सानै उमेरदेखि नै यसको हेरचाहमा ध्यान दिनुपर्छ। विशेषगरी बच्चाहरूको दाँतको हेरचाह कसरी गर्ने भन्ने अभिभावकहरूले जान्न जरुरी छ।
जन्मेको छ महिनादेखि नै बच्चाहरूमा दाँत आउन शुरु हुन्छ। सबै दाँत एकैपटक भने आउँदैनन्। यसको पनि समय हुन्छ। साढे २ वर्ष सम्ममा भने सबै दाँत आइसक्छन्। तर कसैकसैमा भने केही दिन वा महिना ढिलो वा चाँडो हुनसक्छ। त्यसैले आत्तिहाल्नु चाहिँ पर्दैन। तर धेरै ढिलो भएको खण्डमा दाँतको विशेषज्ञ चिकित्सकसँग सल्लाह सुझाव लिनु उचित हुन्छ।
हामीले दिनको दुई पटक दाँत माझ्नुपर्छ र आफ्ना बच्चालाई पनि यही सिकाउनुपर्छ। बिहान नास्ता वा खाना खाएपछि र बेलुका खाना खाएर सुत्नुअघि अनिवार्य रूपमा दाँत माझ्नुपर्छ। यदि दिउँसो पनि केही गुलियो खानेकुरा खाइएको छ भने दाँत माझ्नु राम्रो हुन्छ। दिउँसो दाँत माझ्न सम्भव नभए कम्तीमा कुल्ला चाहिं गर्नैपर्छ ।
साधारणतया बच्चाहरूलाई दूध चुसाएर वा बोतलको दूध रातभरि खुवाएर सुताउने चलन छ। यो राम्रो होइन। यदि बच्चा धेरै नै सानो छ भने दूध वा केही खाएपछि आफूले नै उनीहरुको दाँत सफा गरिदिनुपर्छ। नरम कपडा भिजाएर पुछिदिने र थोरै पानी खुवाइदिने गर्नुपर्छ।
समयसमयमा बच्चाहरुको दाँत हल्लिएको छ कि वा किराले खाएको छ कि या मुखमा अरु कुनै समस्या छ कि हेर्दै गर्नुपर्छ। यदि कुनै समस्या भए तुरुन्त डाक्टरकहाँ जँचाउन लैजानुपर्छ। कुनै समस्या नभए पनि छ छ महिनामा जाँच गराउनु पर्छ। किनभने हरेक दाँतको फेरिने पनि समय फरक फरक हुन्छ।
कतिपय बुवा आमा दूधे दाँत त हो नि भनेर जाँच गराउन जाँदैनन्। यसका कारण स्थायी दाँत भित्र बाहिर वा दायाँ बायाँ गरेर आउने, किराले भित्रसम्मै खाएर गाला सुन्निनेजस्ता समस्या देखा पर्छ।
यस्तो समस्या भएपछि बिरामीलाई बढी पीडा त हुन्छ नै, उपचारमा समय लाग्ने र खर्च बढी पर्ने हुन्छ। त्यसैले अभिभावकहरुले समय मिलाएर आफ्ना बच्चाहरूलाई आफैँसँग लिएर मान्यताप्राप्त डेन्टिस्ट (दाँतको डाक्टर) कहाँ जाँच गर्न लग्ने गर्नुपर्छ। डाक्टरको सल्लाह अनुसार उपचार र हेरचाह गर्नुपर्छ।
स्वस्थ जीवनका लागि स्वस्थ मुख अनिवार्य छ भन्ने कुरा हामी सबैले बुझ्नु जरुरी छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य