हेल्थ टिभी अनलाइन\ काठमाडौं : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड- १९) ले नेपालको पत्रकारिता क्षेत्रमा पनि पेशागत चुनौती थपिएको पत्रकारहरूले बताएका छन् ।
वर्ल्ड कम्युनिकेटर्स काउन्सिलको नेपाल च्याप्टरले बुधवार आयोजना गरेको वेविनारमा काठमाडौ उपत्यका तथा विभिन्न प्रदेशमा कार्यरत पत्रकारहरुले कोभिड- १९को समयमा रिपोर्टिङ गर्दाको अनुभव सुनाएका थिए । कार्यक्रमको प्रारम्भमा बोल्दै काउन्सिलका अध्यक्ष लक्ष्मणदत्त पन्तले कोरोनाका कारण नेपाली पत्रकारले भोगेका विषयलाई साझा रुपमा साट्ने वातावरण तय भएको र यसमा विश्वका अन्य सञ्चार माध्यमका पत्रकारको पनि चासो रहेको बताए । पत्रकारिताको अध्ययन र अनुसन्धानको क्षेत्रमा विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकारका अनुभव बलियो प्रमाण रहने कुरामा पन्तको जोड थियो ।
वेविनारको सहजीकरण गर्दै काउन्सिलका सदस्य तुला अधिकारीले कोभिडका कारण सञ्चार क्षेत्रमा देखिएका समस्या र पेशागत सुरक्षाका विषयमा अवगत गराउन आग्रह गरेका थिए । कोरोनाको संक्रमणबाट निको भएर पुन: पत्रकारितामा फर्केका विरगञ्जका पत्रकार सुरेश विडारीले स्थलगत रिपोर्टिङमा जाँदा सबैले सावधानी अपनाउनुपर्ने बताए । उनले आफु कार्यरत संस्था अनलानइखबर डट कमले कोभिडका समयमा सुरक्षित रहन आग्रह गरेको तथा मनोवैज्ञानिक रुपमा ढाडस दिएकाले आइसोलेसनमा बसेकै समय समाचार र ब्लग लेख्न सफल भएको अनुभव सुनाए । प्रदेश नं २ मा कार्यरत सञ्चारकर्मीमाझ विश्व स्वास्थ्य संगठनले जारी गरेको सुरक्षा मापदण्डका मास्क पञ्जालगायतका सामाग्रीको उपलब्धता हुन नसकेको विडारीले जानकारी गराए ।
नेपाली समाजमा पारिवारिक दायित्व र पत्रकारको भूमिकालाई सन्तुलन गर्न चुनौती बनिरहेको अवस्थामा कोभिडले महिला पत्रकारको व्यक्तिगत तथा व्यावसायिक जीवनमा समस्या थपेको अन्नपूर्ण दैनिकमा कार्यरत पत्रकार राधा खनालको भनाइ थियो । भारतसगँ खुला सिमाना रहेको झापा जिल्लामा कोरोना संक्रमण दर र भय बढेकाले दैनिक रुपमा समाचार संकलन गर्दा मानसिक दबाबको अनुभूति गरेको खनालले बताइन् ।
कोरोना अघि सम्पादक र प्रकाशकको भूमिकामा बढी सक्रिय कैलालीका पत्रकार दिर्घराज उपाध्यायले कोरोनाका कारण सरकारले गरेको लकडाउनले पश्चिम टुडे पत्रिका बन्द गर्नु परेको यथार्थ सुनाए । बाह्रखरी डट कममा कार्यरत बिराटनगरका पत्रकार कुमार लुईटेलले कोरोना संक्रमण क्षेत्र उदयपुर लगायत अन्य स्थानमा स्थलगत रिपोर्टिङमा जान पारिवारिक अनुमती माग्न परेको बताए । रुपन्देहीका पत्रकार कृष्ण मल्लले कोभिडका कारण पत्रकारको काम थपिएको बताए । सुर्खेतमा कार्यरत कान्तिपुर दैनिकका पत्रकार कलेन्द्र सेजुवालले कोभिडका कारण समाचार स्रोतसगँको भौतिक दुरी कम गर्न परेको स्मरण गर्दै समाचारको वस्तुगत विषय तथा तथ्यमा फरक पर्न गएको अनुभव सुनाए । पत्रकार दिपक दाहालले कोरोना चीनको वुहानमा शुरु भएदेखिनै समाचार संकलन गरेको स्मरण गराउँदै अहिले थप चुनाैति थपिएकाे सुनाए ।
कोभिड-१९ ले पत्रकारसँगै अन्य क्षेत्रका मानिसलाई मनोवैज्ञानिक रुपमा समस्या बढाएको द राइजिङ्ग नेपालमा कार्यरत पत्रकार स्मिता अधिकारीले बताइन् । फिचर लेखनमा बढी व्यस्त रहने अधिकारीले आफु कार्यरत पत्रिकाको पृष्ठ घटेकोले समाचारको चाप नभएको अनुभव सुनाइन् । नेपालगञ्जका पत्रकार कृष्ण अधिकारीलाई रिपोर्टिङ चाप बढेको छ । कोभिड संक्रमण उच्च जोखिममा रहेको जिल्लामा टेलिभिजनका लागि श्रव्य दृश्य सामाग्री संकलन गर्न चुनौती र सार्वजनिक स्थलमा जोखिम भएकाले समाचार संकलनमा सावधानी अपनाउन आवश्यक रहेको अधिकारीले बताए । अर्का टेलिभिजन पत्रकार घनश्याम मिश्रले जनकपुर कोभिडको उच्च जोखिममा रहेकोले रिपोर्टिङमा जान समस्या देखिएको बताए ।
कार्यक्रममा व्यक्त भएका विचारलाई सम्बाेधन गर्दै काउन्सिलका उपाध्यक्ष एवं नेपाल समाचारपत्र दैनिकका सम्पादक कपिल काफ्लेले पत्रकारको व्यक्तिगत र आर्थिक सुरक्षामा सबैको ध्यान जान आवश्यक रहेको बताए । कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरु, मिडिया अनुसन्धानकर्ता एवं काउन्सिलका सदस्यहरुको सहभागिता रहेको थियो।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा
अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइयो
गर्मीमा पुदिना खानुका फाइदा
माधवकुमार नेपालको मुटुमा समस्या आएपछि एन्जिओप्लास्टी गरियो