‘वर्षमा २०० रूपैयाँ खर्चेर मिर्गाैला जँचाउनुस्’
विशेषज्ञ भन्छन्, तीन लाख नेपालीलाई आफ्नो मिर्गौला बिग्रेको थाहै छैन
काठमाडौं : तीन लाख नेपालीलाई आफ्नो मिर्गौला बिग्रेको थाहा नभएको बताइएको छ। शुरुकै अवस्थामा लक्षण नदेखिने हुँदा स्वस्थ छु भनेर बसे पनि मिर्गौलामा समस्या आइसकेको हुने राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक डा. ऋषिकुमार काफ्लेले बताएका हुन्।
विश्व मिर्गौला दिवसको अघिल्लाे दिन बुधवार सुमेरु अस्पताल र केन्द्रले संयुक्त रूपमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा. काफ्लेले जनसख्याको १० प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको मिर्गौलाको समस्या भएको बताए। ‘तीमध्ये धेरैलाई मिर्गौला बिग्रेको पत्तै छैन’, उनले भने, ‘लक्षण देखिएपछि आउँदा धेरै ढिलो भइसकेको हुन्छ।’
काफ्लेले सरकारले मिर्गौला रोगीलाई डाइलाइसिस र प्रत्यारोपणका लागि निःशुल्क सेवा दिए पनि जनचेतनामा अझै लगानी गर्न नसकेको बताए। जति रकम उपचारमा जान्छ त्यसको १० प्रतिशत मात्रै रोकथाममा खर्च गर्ने हो भने त्यसले धेरैको मिर्गौला बचाउन सकिने तर्क उनले गरे।
मिर्गौला यस्तो रोग हो जसले काम गर्न छोडेपछि मात्र लक्षण देखाउँछ। त्यसैले ‘मलाई केही भएको छैन’ भनेर बस्ने भन्दा पनि वर्षको एकपटक मिर्गौला जाँच गर्न जरुरी भएको काफ्लेले बताए। ‘जम्मा २०० रुपैयाँमा मिर्गौलाको जाँच हुन्छ’, उनले भने, ‘वर्षको त्यति रकम त छुट्याऔँ’।
सरकारले प्रदान गरेको सेवाले बिरामीले राहत महसुस गरे पनि ‘डायलाइसिस’ गराउने बिरामी बढ्दै गए देशले धान्न नसक्ने बताए। त्यसैले रोकथाममा बढी जोडदिनुपर्ने उनको भनाइ छ।
कार्यक्रममा सुमेरु अस्पततालका मेडिकल डाइरेक्टर डा. डीबी कार्कीले वर्षको एक दिन दिवस मनाएर मिर्गौला रोग रोकथाम गर्न नसकिने भन्दै नियमित रूपमा मिर्गौला रोग र यसबाट बच्ने उपायका बारेमा जनचेतनामूलक कार्यक्रम गर्नपर्नेमा जोड दिए। सरकारले डाइलाइसिस भन्दा प्रत्यारोपणलाई प्राथामितमा राख्नपर्ने उनले बताए। ‘डाइलाइसिसले बिरामीलाई बचाउने मात्र काम गर्छ भने प्रत्यारोपणपछि व्यक्तिले स्वस्थ जीवनयापन गरी देशका लागि केही गर्नसक्छ’, उनले भने।
कार्यक्रममा अफिनका महासचिव हेमराज दाहालले सरकारले १० वर्ष अघि तोकेको निःशुल्क डाइलाइसिस सेवा भित्रै रहेर निजी अस्पतालले सेवा दिइरहेको बताए। ‘यसमा हामीले आफनो लागत मूल्य निकाल्ने हो भने पनि तीन हजार देखि ३५ सयसम्म आउँछ’, उनले भने, ‘तर हामीले बिरामीलाई राहत हुने सरकारको यो सेवालाई अघि बढाउनुपर्छ भन्दै साथ दिएका छौँ।’





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’