पीसीएल लेबलमा पनि ‘मिडवाइफ्री’ पढाइ शुरु हुँदै
काठमाडौं : सरकारले पीसीएल अर्थात् प्रवीणता प्रमाणपत्र तहमा ‘मिडवाइफ्री’ शिक्षा शुरु गर्ने भएको छ। मातृमृत्यु तथा नवजात शिशुमृत्यु घटाउन र उनीहरूको स्वास्थ्यमा सुधार ल्याउन मिडवाइफको महत्त्वपूर्ण भूमिका हुने भन्दै यो कार्यक्रम शुरु गर्न लागिएको बताइएको छ ।
३ वर्ष अघि स्नातक तहमा मिडवाइफ्री शिक्षा शुरु गरेको सरकारले समुदाय स्तरमा अझ बढी मिडवाइफ आवश्यक भएको भन्दै पीसीएल अर्थात् प्रवीणता प्रमाणपत्र तहको शिक्षा शुरु गर्न लागेको मिडवाइफ्री सोसाइटी अफ नेपालकी अध्यक्ष प्राध्यापक किरण बज्राचार्यले बताइन्। ‘हाम्रै पहलमा तीन वर्ष अघि न्याम्सअन्तर्गतको वीर अस्पताल नर्सिङ क्याम्पस, धुलिखेल विश्वविद्यालय र पछिल्लो समय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातक तहको पढाइ शुरु भइसकेको छ’, उनले भनिन्।
स्नातक तहको मिडवाइफ्री पढाइसकेपछि उनीहरू अस्पतालमा काम गर्छन्। उनीहरूअधिकृत तहका हुन्छन्। तर हामीलाई सबै तहको प्रसूतिकर्मी आवश्यक हुन्छ । समुदायस्तरमा पनि मिडवाइफको आवश्यकता अझ बढी महशुस गरी यो कार्यक्रम लागू गर्न लागिएको बज्राचार्यले बताइन्। ‘ग्रामीण भेगमा अहिले पनि ठूलो संख्यामा गर्भवती घरमै सुत्केरी हुने भएकाले आमा र शिशुको मृत्युदर रोक्न सकिएको छैन। त्यसकारण मिडवाइफको आवश्यकता हरेक गाउँ र स्वास्थ्यको पहुँच नपुगेका स्थानमा अझ बढी छ’, उनले भनिन्।
यसमा कुनै पनि विषयमा प्लस टु पास गरेका विद्यार्थीले प्रवेश परीक्षा दिन पाउँछन्। ७० प्रतिशत अनमी पढेका र ३० प्रतिशत बाहिरबाट प्लस टु पास गरेका विद्यार्थी लिने नीति लिएको पनि जानकारी गराइन्। ‘उनीहरूको दरबन्दी प्राथमिक स्वास्थ्य केन्द्र, बर्थिङ सेन्टर जिल्ला तहमा हुने भएकाले गाउँघरमा हुने सुत्केरी र शिशुको जीवन रक्षा लागि उनीहरूले सहयोग गर्न सक्छन्’, उनले थपिन्। यो पढाइका लागि पाठ्यक्रम बनिसेकेको र सीटीर्इभीटी मार्फत चाँडै पढाइ शुरु हुने बताइएको छ।
आमा र नवजात शिशुको मृत्युदर घटाउनका लागि दक्ष प्रसूतिकर्मीका रूपमा लिइने मिडवाइफले महिला गर्भवती भएदेखि सरसल्लाह दिने,सुत्केरी गराउने, परामर्श दिने र सहजीकरणकाे काम गर्छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’