Health TV Online
Health TV Online
Health TV Online

शरीरभित्रका विकार निकाल्न ‘पाेटली मसाज’ : जाडाेमा असाध्यै उपयाेगी

शरीरभित्रका विकार निकाल्न ‘पाेटली मसाज’ : जाडाेमा असाध्यै उपयाेगी

आयुर्वेद पञ्चकर्म अन्तर्गतको उपचार पद्धति हो, ‘पोटली मसाज’। विभिन्न जडिबुटीलाई एकै ठाँउमा पोकामा राखेर मसाज गर्ने भएकाले पोटली मसाज भनेको बताइन्छ। भारतमा यसलाई ‘पिण्डश्वेत’ पनि भनिन्छ।

तताएर गर्ने हुँदा पसिना आउने भएकोले पनि यसलाई पिण्डश्वेत भनेको हो। आयुर्वेद पञ्चकर्ममा उपचारको पहिलो तहमा पूर्वकर्म, दोस्रोमा प्रधानकर्म र अन्त्यमा पश्चातकर्म भनेर हुन्छ। पूर्वकर्ममा श्वेदन (पसिना निस्किने काम) र स्नेहन भन्ने कर्म हुन्छ।

प्रधानकर्ममा बमन, विरेचन, नस्य लगायतका अन्य दुई कर्म हुन्छ भने पश्चातकर्ममा ३०–४० किसिमको थेरापीहरु हुन्छन्, त्यस्कै अन्तर्गत पोटली मसाज पर्छ।

पोटली मसाजमा शुरुमा केही तेल, जस्तै– सिरुफला तेल, बला तेल अादि लगाइन्छ र त्यसपछि विभिन्न किसिमको ‘नर्वाइन टोनिक’ औषधि द्रव्यहरू राखिन्छ जसमा अश्वगन्धा, जटामसी, चिनी, तुलसी, ज्वानो, मेथी, अदुवा र सिमली लगायत नसालाई तागत दिने जडिबुटी पोको पारेर तातो पारी मसाज गरिन्छ।

यी सबै जडिबुटीको पातलाई पकाएर अथवा तताएर बाहिर रूपमा प्रयोग गर्दापनि उपयोगी हुन्छ। यस मसाजले नसाको दुखाइहरूमा, मांसपेशीको दुखाइहरूमा, जोर्नी दुखाइहरूमा यो आराम पुर्याउन र निको पार्न मद्दत गर्छ। तताउँदा यसबाट बाफ, स्वरस र तातो पनि हुने भएकोले यसले छिटो काम गर्ने र जाडोमा शरीरलाई बढी तापक्रम चाहिने भएकोले जाडोको समयमा अझ उपयोगी हुन्छ। यसले रक्तसञ्चारलाई पनि सहज बनाउँछ।

समस्या भएको ठाँउमा पोटली राख्दा तातोले पसिना द्वार खोल्ने काम गर्छ भने खुलेको द्वारबाट जडिबुटीको स्वरस पसेर आराम पुग्ने हुन्छ। शरीरभित्र भएको विकारलाई पनि पसिनाको माध्यमबाट निकाल्ने काम गर्छ। अनि रोग निको भएर जाने हुन्छ।

गर्दन, कान, कम्मरको नसा च्यापेको, घुँडाको, हातको जोर्नी दुख्ने समस्या, शरीरको मांसपेशी दुखेको समस्याहरूमा यो मसाज धेरै नै उपयोगी छ। आयुर्वेदको उद्गमस्थल भनेको नेपाल नै थियो। पहिले पहिले आयुर्वेद मूलभूत चिकित्सा पद्धति थियो। केही समयओझेलमा परे पनि अहिले मानिसमा यसको प्रभाव बिस्तारै पर्दैछ। अब कतिपय उपचार एलोप्याथीबाट सम्भव नहुने भएपछि चिकित्सकहरूले ‘थेरापी’मा जानुस् भन्ने सल्लाह दिन थालेका छन्।

बच्चामा केही समस्या जस्तै फोका उठ्न सक्ने भएकोले ध्यान दिएर गर्नुपर्ने हुन्छ भने बुढ्यौलीमा आउने समस्या जस्तै बाथ, कम्मर, गर्दन दुख्ने, ‘फ्रोजन सोल्जर’ आदिमा उपयोगी हुन्छ। यो उपचार पद्धति सबै उमेरको बिरामीले पनि लिन सक्छन्।

सुस्वास्थ हस्पिटलमा कार्यरत कविराज समनसिंह बस्नेतसँग हेल्थ टिभी अनलाइनका दिवाकर तिमिल्सिनाले गरेकाे कुराकानीमा अाधारित ।

थप समाचार