प्रसूति सेवा केन्द्र नहुँदा घरमै बच्चा जन्माउँछन् नेपालगञ्जका महिला
खजुरा – नेपालगञ्ज उपमहानगरपालिका–२१ पुरैनामा ५७ महिला घरमै सुत्केरी भएका छन्।
पुरैना स्वास्थ्य चौकीदेखि भेरी अञ्चल अस्पतालको दूरी करीब चार किलोमिटर मात्र छ। चौकीले बर्थिङ सेन्टर (प्रसूति सेवाकेन्द्र) का लागि भवन बनाएको छ, तर बाटो नहुँदा सञ्चालन गर्न सकेको छैन। ‘हामी भेरी अञ्चल अस्पतालमा सिफारिस गर्छौँ, अस्पताल जानुको साटो स्थानीय घरमै बच्चा जन्माउँछन्’, चौकी प्रमुख नन्दा सेनले भने, ‘आफ्नै टोलमा प्रसूति सेवाकेन्द्र प्रयोग हुँदा सबैलाई दक्ष प्रसूतिकर्मीबाट सुत्केरी गराउन सकिन्थ्यो।’
यो समस्या मधेसी समुदायमा बढी देखिएको छ। उपमहानगरमा रहेका ११ वटा स्वास्थ्य चौकीमध्ये मनिकापुर, पुरैनी, उदयपुर र जैसपुरमा मात्र प्रसूति सेवाकेन्द्र छ।
उपमहानगरमा नगर स्वास्थ्यकेन्द्र सात वटा छन्। तिनमा कुनै पनि प्रसूति सेवाकेन्द्र छैनन्। भवनीयापुरमा भने प्रसुति सेवाकेन्द्र भए पनि दक्ष प्रसूतिकर्मीको अभावमा सञ्चालन हुन नसकेको उपमहानगर स्वास्थ्य शाखाका हरिहर तिवारीले बताए।
उपमहानगर स्वास्थ्य शाखाका अनुसार गत वर्ष तीन हजार ६४६ जनाले प्रसूति सेवा लिएकोमा १५ जनाले मात्र घरमै बच्चा जन्माएका थिए। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार आव ०७४\७५ मा उपयुक्त स्वास्थ्यसेवाको अभावमा अभावमा १२ महिलाले ज्यान गुमाएका थिए। तीमध्ये अाठ जनाको प्रसूतिकै क्रममा मृत्यु भयो। तीन जनाको गर्भवती अवस्थामै ज्यान गएको थियो।
बाँके युनेस्को क्लबका नवजात शिशु तथा बाल स्वास्थ्य कार्यक्रम अधिकृत रोशन थापा नगरभित्रै प्रसूति सेवाकेन्द्र नहुँदा सर्वसाधारण घरमै प्रसूति गराउन बाध्य भएको बताए। प्रसूति सेवाकेन्द्र तथा स्वास्थ्य संस्थाको सेवा सुधारका लागि युनेस्कोले पनि सहयोग गरेको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण