औषधिको सही प्रयोग किन आवश्यक छ ?
डा निशा झा
हेल्थ टिभी अनलाइन : आज जुलाई ८ अर्थात ‘औषधिको विवेकपूर्ण प्रयोग’ को अन्तर्राष्ट्रिय दिवस । सोचविचार गरेर प्रेस्क्रिप्सन लेखौँ । सावधानीपूर्वक प्रयोग गरौँ । स्वस्थ भविष्यका लागि बुद्धिमत्तापूर्ण छनोट गरौं भन्दै ‘इन्टरनेशनल सोसाइटी टु इम्प्रुभ द युज अफ मेडिसिन’ को आव्हानमा विश्वभर यो दिवस मनाइँदैछ ।
यो संसारभरि औषधिहरुको उचित प्रयोगलाई प्रोत्साहन गर्ने उत्सवको रूपमा मनाउने एक विश्वव्यापी पहल पनि हो । औषधिहरुको जिम्मेवारपूर्ण प्रयोगले नै स्वास्थ्य राम्रो हुन्छ भन्ने विश्वासमा यो पहल आधारित छ । तपाईं औषधी सिफारिस गर्ने स्वास्थ्यकर्मी हुनुहुन्छ वा औषधीको प्रयोगकर्ता, तपाईंको छनोटले विशेष अर्थ राख्दछ । बुद्धिमत्तापूर्ण छनोटको अर्थ स्वस्थ भविष्य हो ।
औषधिहरुको विवेकपूर्ण प्रयोग भनेको के हो ?
विश्व स्वास्थ्य संगठनका अनुसार औषधिहरुको विवेकपूर्ण प्रयोग भन्नाले बिरामीहरुले उनीहरुको चिकित्सकीय आवश्यकता अनुसारको औषधी, उनीहरुको आफनै व्यक्तिगत आवश्यकता पूरा गर्ने मात्रामा, पर्याप्त समयका लागि र उनीहरु एवं उनीहरुको समुदायको लागि सबैभन्दा कम लागतमा प्राप्त गर्नु हो । बिरामीका लागि सिफारिस गरिएका कुल औषधीहरु मध्ये आधाभन्दा बढी अनुपयुक्त रुपमा सिफारिस, वितरण वा बिक्री गरिन्छन्, र आधा बिरामीहरुले तिनीहरुलाई सही तरिकाले सेवन गर्न असफल हुन्छन् भन्ने अनुमान गरिएको छ । औषधिहरुको अत्यधिक प्रयोग, कम प्रयोग वा दुरुपयोगले दुर्लभ स्रोतहरुको बर्बादी र व्यापक स्वास्थ्य जोखिम निम्त्याउँछ ।
यो किन महत्वपूर्ण छ त ?
औषधिहरुको अनुचित प्रयोग विश्वव्यापी रुपमा एक प्रमुख समस्या हो । औषधिको गलत प्रयोगले औषधि प्रतिरोधको समस्या निम्त्याउँछ । जसलाई एन्टिमाइक्रोबियल रेसिसटेन्स भनिन्छ । एन्टिबायोटिकको जथाभाबी प्रयोग अहिले विश्वकै ठूलो स्वास्थ्य संकटमध्ये एक मानिन्छ। विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सन् २०१९ मा मात्रै झण्डै १३ लाख मानिसले औषधिको गलत तथा अनुचित प्रयोगकै कारण ज्यान गुमाए । औषधि प्रतिरोधकै कारण सन् २०५० सम्ममा विश्वभर वार्षिक २ करोडभन्दा बढी मानिसको मृत्यु हुने अनुमान गरिएको छ । त्यसैले यो समस्या जोकोहीलाई पनि हुनसक्छ । यसबाट जोगिने भनेकै औषधिको विवेकपूर्ण प्रयोग गर्नु हो ।
विश्व स्वास्थ्य संगठन तथा अन्य अन्तर्राष्ट्रिय निकायहरु दिगो विकास लक्ष्यहरु हासिल गर्न औषधिको उचित प्रयोगलाई एक आधार स्तम्भ मान्दछन् । यसले विश्वव्यापी स्वास्थ्य पहुँच र रोकथाम गर्न सकिने मात्र होइन रोगहरु न्यूनीकरण गर्न पनि मदत गर्दछ । विकासोन्मुख देशहरुमा स्वास्थ्य खर्चको २० देखि ६० प्रतिशत हिस्सा औषधीमा खर्च हुन्छ । झण्डै ९० प्रतिशत मानिसहरु आफनै गोजीबाट पैसा तिरेर औषधि खरिद गर्ने गरेको पाइन्छ जसले गर्दा खानेकुरापछि औषधि परिवारको सबैभन्दा ठुलो खर्चको रुपमा रहेको छ ।
औषधिको सेवन गर्दा बिरामीले के ध्यान दिने ?
-स्वास्थ्यकर्मीको सल्लाह र सिफारिस बिना औषधि सेवन नगर्ने
-औषधि सेवन गर्दा अनिवार्य पूरा कोर्ष खाने, बीचमै नछोड्ने ।
-स्वास्थ्यकर्मीको सल्लाह बमोजिम समयमा पूरा मात्रा औषधि खाने ।
-बाँकी रहेको औषधि अरुसँग शेयर नगर्ने ।
-आफूखुशी औषधि परिवर्तन नगर्ने
औषधि रोग निको पार्ने शक्तिशाली माध्यम हो। तर जानेर वा नजानेर यसको गलत प्रयोगले व्यक्तिगत स्वास्थ्यदेखि विश्वव्यापी जनस्वास्थ्यसम्ममा गम्भीर असर पार्न सक्छ। त्यसैले सही बिरामीलाई, सही औषधि, सही मात्रा, सही समयमा र सही अवधिसम्म प्रयोग गर्नु नै औषधिको विवेकपूर्ण प्रयोगको मूल आधार हो।
औषधिको विवेकपूर्ण प्रयोगको अन्तर्राष्ट्रिय दिवसले स्वास्थ्यकर्मी, औषधि व्यवसायी, नीति निर्माता र आम नागरिक सबैलाई एउटै सन्देश दिएको छ – विवेकपूर्ण औषधि प्रयोग गरौं, बेलैमा एन्टिबायोटिक प्रतिरोध रोकौं, स्वस्थ भविष्य सुनिश्चित गरौं । सही प्रयोग गर्दा औषधिले ज्यान बचाउँछ भने गलत प्रयोगले ज्यान लिन पनि सक्छ भन्ने कुरा सबैले बुझौं
प्राडा झा किष्ट मेडिकल कलेजको फर्माकोलोजी विभागकी प्रमुख हुन् ।
औषधिको सही प्रयोग किन आवश्यक छ ?
वर्षौदेखि नियन्त्रणका सेवा विस्तार हुँदाहुँदै पनि किन अन्त्य हुन सकेन क्षयरोग ?
किष्ट अस्पतालमा सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषको स्वास्थ्य सुविधा
चिकित्सक उत्पादनमा फड्को, पलायनले राज्यलाई ठूलो नोक्सानी
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने