Health TV Online
Health TV Online
Health TV Online

साझा यातायातका कर्मचारीलाई ‘आधारभूत ट्रमा लाइफ सपोर्ट तालिम’

साझा यातायातका कर्मचारीलाई ‘आधारभूत ट्रमा लाइफ सपोर्ट तालिम’

हेल्थ टिभी अनलाइन : ललितपुरको कुपन्डोलमा अवस्थित नेपालकै पहिलो लाइफस्टाइल अस्पताल आरुस लाइफस्टाइल अस्पतालको अर्थोपेडिक विभागले न्याय हेल्थ नेपालसँगको सहकार्यमा साझा यातायातका कर्मचारीहरूलाई लक्षित गरी आधारभूत ट्रमा लाइफ सपोर्ट  तालिम सम्पन्न गरेको छ । सो तालिमका मुख्य प्रशिक्षकका रुपमा आरुस अस्पतालका वरिष्ठ अर्थोपेडिक चिकित्सकहरु डा भास्कर राज पन्त, डा सन्दीप भण्डारी र डा गौरव वीर बज्राचार्य रहेका थिए ।

कार्यक्रममा बोल्दै साझा यातायातका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार कनकमणि दिक्षितले सवारी चालक तथा सहचालकले जान्नैपर्ने कुराहरुमा आरुस अस्पतालले तालिम दिएकोमा अस्पताल टिमलाई धन्यवाद दिए । उनले बाटोमा गुडिरहँदा चालक तथा गाडीका कर्मचारीले विभिन्न दुर्घटनाहरु देख्ने तथा भोग्ने हुँदा यो बेला आफू सुरक्षित रहेर कसरी कुनै व्यक्तिको ज्यान जोगाउन सकिन्छ भन्ने विषयमा उनीहरु जानकारी भएमा धेरैको ज्यान जोगाउन मद्दत गर्न सक्ने समेत जनाए । उनले भने, ‘आरुस अस्पतालले साझा यातायातका कर्मचारीलाई जुन बेसिक ट्रमा लाइफ सपोर्ट तालिम दिएको छ यसको ठूलो महत्व छ । यसलाई निरन्तरता दिन म आग्रह गर्दछु ।’

यसैगरी कार्यक्रममा आरुस अस्पतालका सिइओ डा सन्तोष शाक्यले यस्ता खालका सीपमूलक तालिमले आकस्मिक रुपमा हुने दुर्घटनाबाट हुने क्षतिलाई कम गर्न सहयोग गर्न सक्छ भन्ने लागेर यसपटक साझा यातायातका कर्मचारीलाई तालिम दिइएको र आगामी दिनमा अन्य रुटमा चल्ने अन्य सवारीका कर्मचारीलाई पनि ट्रमा लाइफ सपोर्ट तालिम दिने लक्ष्य रहेको जानकारी दिए । सडक दुर्घटनाबाट हुने मृत्यु न्यूनीकरण गर्न र समयमै उपचारको सुरुवात गर्न मद्दत गर्ने उद्देश्यले यो तालिमको सुरु गरिएको हो, उनले थपे ।

तालिममा सडक दुर्घटनाको अवस्थामा प्राथमिक उपचार, जीवनरक्षक सीप दुर्घटना रोकथाम तथा व्यावहारिक अभ्यास  सम्बन्धी महत्वपूर्ण जानकारी दिइएको थियो ।

कार्यक्रममा प्रशिक्षकहरूले दुर्घटनापछि जीवन बचाउन अत्यन्तै महत्वपूर्ण मानिने ‘गोल्डेन पिरियड’ दुर्घटनापछि पहिलो घण्टाको महत्वबारे विस्तृत जानकारी गराउँदै सो अवधिमा गरिएको प्राथमिक उपचारले धेरै जीवन बचाउन सकिने तथ्य प्रस्तुत गरेका थिए । सो क्रममा प्रशिक्षक तथा अर्थोपेडिक सर्जन डा भास्कर राज पन्तले कुनै पनि दुर्घटना भएको एक घण्टाभित्रै घाइतेलाई अस्पताल लान सके धेरै हदसम्म बढी क्षति हुनबाट जोगाउन सकिने र ज्यानै जाने अवस्थामा रहे पनि ज्यान जोगाउन सक्ने सम्भावना हुने बताए । उनले हरेक सवारी साधनमा एउटा फस्ट एड बक्स अनिवार्य राख्न पनि सुझाव दिए ।

यसैगरी अर्का प्रशिक्षक डा सन्दीप भण्डारीले बाटोमा केही गरी दुर्घटनाका कारण हाडजोर्नीमा समस्या भएमा के कसरी प्राथमिक उपचार गर्दै अस्पतालसम्म पुराउने भन्नेमा जानकारी दिएका थिए । उनले दुर्घटनामा भएका व्यक्तिलाई सही तरिकाले उठाउने, चलाउने मात्र जानेमा पनि धेरै क्षति कम हुने जिकीर गरे ।

कार्यक्रममा अर्थोपेडिक डाक्टर गौरव वीर बज्राचार्यले आधारभूत ट्रमा लाइफ सपोर्टबारे प्रस्तुतीकरण दिएका थिए । उक्त तालिम कार्यक्रममा साझा यातायातका चालक तथा सह चालकहरु गरी ६० जनाभन्दा बढीको सहभागिता रहेको थियो । उनीहरुले दुर्घटना हुने बित्तिकै के गर्न सकिन्छ भन्ने विषयमा दिइएको तालिम आफूहरुका लागि निकै फलदायी भएको प्रतिक्रिया दिएका थिए ।

यस पहलमार्फत आरुस लाइफस्टाइल अस्पतालले सामुदायिक स्वास्थ्य, सडक सुरक्षा सचेतना र जीवनरक्षक तयारीलाई अझ मजबुत बनाउन योगदान गर्ने विश्वास लिएको छ।

 

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार