Health TV Online
Health TV Online
Health TV Online

रूबेला रोग निवारण गर्न नेपाल सफल

रूबेला रोग निवारण गर्न नेपाल सफल

हेल्थ टिभी अनलाइन : जनस्वास्थ्य समस्याको रूपमा रहेको रूबेला रोग निवारण गर्न नेपाल सफल भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाल रुबेला रोग निवारण गर्न सफल भएको घोषणा गरेको छ ।

सो क्रममा उसले नेपालले हासिल गरेको यो ‘उल्लेखनीय उपलब्धि’ हो भन्दै खोपबाट बचाउन सकिने रोगहरूविरुद्ध दिइने ‘खोप सेवामा गरेको निरन्तर एवं दृढ प्रयासको नतिजा’ भनेको छ । दादुरा जस्तै देखिने रुबेला अर्थात जर्मन दादुरा, भाइरसको संक्रमणबाट हुने अति सङ्क्रामक रोग हो ।

यो रोगले विशेषगरी गर्भवती महिलाहरूमा जटिलता निम्त्याउँछ, जसका कारण गर्भपतन हुने, मृत शिशु जन्मिने, वा बच्चालाई जीवनभर असर पार्ने लगायतका समस्याहरु देखिन सक्छन् । तर, रूबेलालाई सुरक्षित र प्रभावकारी खोपबाट रोकथाम गर्न सकिन्छ ।

“नेपालले प्राप्त गरेको यो सफलता नेतृत्व तहको दृढ प्रतिबद्धता, स्वास्थ्यकर्मीहरुको लगनशिलता, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको निरन्तर सहयोग, स्वास्थ्यप्रति आमजनसमुदायको चासो र सहयोगको परिणाम हो । यस उपलब्धिले शिशुहरूका लागि स्वस्थ जीवनको सुरुवात र रूबेलामुक्त भविष्य सुनिश्चित गरेको छ,” विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्व एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा क्याथरिना बोहमले भनिन् । ।

उनले दक्षिण–पूर्व एसिया क्षेत्रमा दादुरा र रूबेला निवारणका लागि क्षेत्रीय प्रमाणीकरण आयोगको सिफारिसलाई स्विकृत गर्दै नेपालबाट रूबेला निवारण भएको प्रमाणित गरिन् ।

क्षेत्रीय प्रमाणीकरण आयोगको २०८२ साउन ६ गतेदेखि ८ गतेसम्म भएको वार्षिक बैठकले नेपालको राष्ट्रिय प्रमाणीकरण समितिले पेश गरेको रोग निगरानी र खोप कभरेज दरसम्बन्धी तथ्यांक तथा विवरणको समिक्षा तथा मूल्याङ्कन गरी नेपालमा रूबेला निवारण भएको प्रमाणित गर्न सिफारिस गरेको हो ।

यो संगै नेपाल, रूबेला निवारण गर्ने विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रमा छैटौँ राष्ट्र बनेको छ । सन् २०२६ भित्र दादुरा र रूबेलालाई जनस्वास्थ्य समस्याको रूपमा नरहेको अवस्थामा पु¥याउने लक्ष्य हासिल गर्ने सम्बन्धमा भूटान, उत्तर कोरिया, माल्दिभ्स र टिमोर–लेस्टेले दादुरा निवारण गरी सकेका छन् भने भूटान, उत्तर कोरिया, माल्दिभ्स, श्रीलङ्का, टिमोर–लेस्टे र अब नेपालले पनि रूबेला निवारणमा सफलता प्राप्त गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले भने,’नेपालले क्षेत्रीय लक्ष्यभन्दा अगाडि रुबेला निवारण गर्नु राष्ट्रिय खोप कार्यक्रमको सफलताको अर्को प्रमाण हो, जुन हाम्रो स्वास्थ्य प्रणालीको एक बलियो आधारस्तम्भको रुपमा रहँदै आएको छ । नेपालको खोप कार्यक्रम लगायत समग्र स्वास्थ्य क्षेत्रमा ग्लोबल एलायन्स फर भ्याक्सिन्स एन्ड इम्युनाइजेसन गाभी र विश्व स्वास्थ्य संगठनले प्रदान गर्दै आएको निरन्तर सहयोग प्रति हामी कृतज्ञता व्यक्त गर्दछौँ । म यस अवसरमा यो उपलब्धि हासिल गर्न योगदान पुराउनु हुने सम्पूर्ण नेतृत्वकर्ता, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधी एवंसमुदायप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु र बधाई दिन पनि चाहन्छु । साथै, कुनै पनि बालबालिका अब खोपबाट बचाउन सकिने रोगबाट पीडित हुनु नपरोस् भन्ने उद्देश्यका लागि सबै सरोकारवालाहरुलाई सहयोग जारी राख्न समेत आह्वान गर्दछु।

नेपालले सन् २०१२ मा ९ महिना देखि १५ वर्ष सम्मका बालबालिकालाई लक्षित गर्दै देशव्यापी अभियानमार्फत रूबेला खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेको थियो । सन् २०१६ मा रूबेला खोपको दोश्रो मात्रा पनि राष्ट्रिय खोप तालिकामा थप गरिएकाे थियाे ।

सन् २०१५, २०२३ का भूकम्प र कोभिड–१९ जस्ता स्वास्थ्य आपतकालिन अवस्थाका बीच पनि सन् २०१२, २०१६, २०२० र २०२४ मा देशभर सञ्चालन गरिएका रुबेला खोप अभियानले जीवनरक्षक खोपहरुमा पहँच बृद्धि गर्नमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए । त्यसैगरी, सन् २०२४ सम्ममा, नेपालले रूबेला खोपको पहिलो मात्रा ९५ प्रतिशत भन्दा बढी बालबालिकामा पुर्‍याउन सफल भएको थियो ।

हरेक वर्ष बैशाख महिनालाई ‘खोप महिना’ को रुपमा मनाएर, नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि ‘खोज र खोप’ अभियान सञ्चालन गरी स्थानीय तह, जिल्ला, प्रदेश हुँदै राष्ट्रलाई नै ‘पूर्ण खोपयुक्त’ घोषणा गर्ने जस्ता नविनतम एवं सृजनात्मक प्रयासहरुले खोपबाट बचाउन सकिने रोग निवारणको लक्ष्यमा पुग्न थप गति प्रदान गरेको छ ।

रोग निगरानीलाई अझ सबल बनाउने उद्देश्यले नेपालले हालै एक सुदृढ प्रयोगशाला परीक्षण प्रणाली लागू गरेको छ, जुन दक्षिण– पूर्वी एसिया क्षेत्रमै पहिलो हो ।

विश्व स्वास्थ्य संगठन नेपालस्थित कार्यालयका प्रमुख डा राजेश सम्भाजिराव पाण्डवले रुबेला निवारण गर्न सफल भएकोमा नेपाललाई बधाई दिदै जनस्वास्थ्य क्षेत्रमा हासिल भएको महत्वपूर्ण उपलब्धि सरकार, स्वास्थ्यकर्मी, साझेदार संस्था र समुदायबीचको बलियो र प्रभावकारी सहकार्यको परिणाम भएको बताए ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार