नेपालमा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट एउटै व्यक्तिमा कलेजो र मिर्गौला प्रत्यारोपण

हेल्थ टिभी अनलाइन : भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु ब्रेनडेथ भएका व्यक्तिबाट एउटै व्यक्तिमा मिर्गौला र कलेजो प्रत्यारोपण गरिएको छ । साथै अर्का एक व्यक्तिमा मिर्गौला प्रत्यारोपण गरिएको छ । मस्तिष्क मृत्यु भएका व्यक्तिबाट एकैपटक एउटै व्यक्तिमा मिर्गौला र कलेजो प्रत्यारोपण गरिएको यो नेपालमा पहिलोपटक हो ।
मिर्गौला र कलेजो दुवै फेल भएका ५४ वर्षिय पुरुषको एकै पटक कलेजो र मिर्गौला प्रत्यारोपण भएको हो ।
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले मस्तिष्क मृत्यु भएका एकै व्यक्तिको अंगबाट एउटै व्यक्तिमा कलेजो र मिर्गौला प्रत्यारोपण हुनु नेपालको लागि ठूलो सफलता भएको बताए । उनले यसअघि कलेजोको प्रत्यारोपण गर्नका लागि भारतबाट विज्ञको सहयोग लिने गरेको भएपनि यो पटक नेपालीको टोलीले मात्रै कलेजो र मिर्गौला एकैपटक प्रत्यारोपण गरेको जानकारी दिए । डा श्रेष्ठले भने, ‘दुवै अंग एकैपटक, एउटै व्यक्तिमा प्रत्यारोपण गरेको पहिलो पटक हो । यो सफलताले मानिसमा अंगदानप्रति सचेतना बढाउनेछ ।’
डा श्रेष्ठका अनुसार मस्तिष्क मृत्यु भएका १८ वर्षिय डोनर काठमाडौं मेडिकल कलेजबाट ल्याइएको हो । मस्तिष्क मृत्यु भएको अंगबाट एकैपटक दुइवटा अंगको प्रत्यारोपण गरेर नेपालमा पहिलो पटक सफल भएको भन्दै उनले ब्रेनडेथबाट कलेजो प्रत्यारोपण भएको यो चौथोपटक भएको बताए । यस्तै मस्तिष्क मृत्युबाट मिर्गौला प्रत्यारोपण गर्ने व्यक्ति १२ जना पुगेको छ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज केएमसी मा धादिङ जिल्ला निवासी १८ वर्षिय युवकको अंगबाट मिर्गौला र कलेजो प्रत्यारोपण गरिएको हो । काठमाडौंको नारायणगोपाल चोकमा सवारी दुर्घटनामा परेर गम्भीर घाइतेभएका युवालाई उपचारका क्रममा केएमसी ल्याइएको थियो । केएमसीमा परीक्षणपछि मस्तिष्क मृत्यु भएको पुष्टि भएको थियो । उनका बुबा र दाजुको सहमतिमा अङ्गदान प्रक्रिया गरिएको हो । केएमसीका वरिष्ठ चिकित्सक डा रोशन घिमिरेको नेतृत्वमा रहेको विशेषज्ञ टोलीले मृतकबाट प्राप्त अंगहरू शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हस्तान्तरण गरेको थियो । १८ वर्षिय युवाका अङ्गहरू ५४ वर्षिय व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गरिएको हो ।
प्रत्यारोपण शल्यचिकित्सक डा पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा भएको हो। त्यस्तै मस्तिष्क मृत्यूबाट प्राप्त कलेजो र मिर्गौला प्रत्यारोपण एकै व्यक्तिमा नेपाली विज्ञहरुबाटै सफलपूर्वक सम्पन्न हुनु नेपालकै लागि खुसीको कुरा भएको अस्पतालका कार्यकारी निर्देशक डा श्रेष्ठले बताए ।
उक्त प्रत्यारोपण टिममा कलेजोतर्फ डा रोशन घिमिरे र डा प्रवीण महर्जनले सघाएका थिए भने मिर्गौलातर्फ डा दिपेश श्रेष्ठ, डा रुपेशकुमार झा, डा हरिप्रसाद बराल, डा रोजन अधिकारी र डा विकास खड्का थिए ।
यसैगरी एनेस्थेसिया तथा क्रिटिकल केयर विभागबाट डा आरती राई, डा निभा श्रेष्ठ, डा शोभित थापा, डा रेखा श्रेष्ठलगायतले सहयोग गरेका थिए। यसैगरी नेफ्रोलोजी विभागबाट डा कल्पनाकुमारी श्रेष्ठ, डा लुसन सिंह, डा सुमित आचार्य, डा सन्तोष सुवेदी र डा वीक्रमवीर बज्राचार्य सहभागी थिए । यस्तै रेडियोलोजी विभागबाट डा कृष्ण बुढाथोकी डा जस्मिन जोशी, डा हितेश रायमाझी, डा सुधीर जोशी र डा जी एलिन सहभागी थिए। प्याथोलोजी विभागबाट डा सविना श्रेष्ठ, डा सुस्मिता घिमिरे सहभागी थिए। यसैगरी ट्रान्सप्लान्ट कोर्डिनेटर विभागबाट डा बादल महर्जन, तारा साँध, सरु कोजु, बन्दना खत्रीले समन्वय गरेका थिए ।
नर्सिङ विभागबाट निर्देशक पूजा कोइराला, इन्चार्जहरू अस्मिता कटुवाल, बबिता लवजू, अनिता कार्की, मीना खर्बुजा, एलिसा श्रेष्ठको टिमले सघाएको थियो। फोकल पर्सन गौरव पन्थ तथा रामचन्द्र पौडेलले व्यवस्थापकीय जिम्मेवारी निभाएका थिए।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु